भवन उद्घाटन गर्न गएका मन्त्री राईलाई शिब सेनाका युवाले रोके
Saturday, September 3rd, 2022, 9:05 pm
Kalpristha
भवन उद्घाटन गर्न हनुमानगढी पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. ईश्तियाक राईलाई शिव सेनाका युवाहरुले रोक लगाएका छन् । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर-२ स्थित हनुमानगढी परिसरमा रहेको एक तले भवन उद्घाटन गर्न पुगेका मन्त्री राईलाई शिव सेनाका युवा समूहले अबरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।
दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन गर्न मन्त्री राई शनिबार हनुमानगढी पुगेका थिए । निर्माण सम्पन्न भएको भवनको उद्घाटन र शिलालेख राख्न खोज्दा युवाको एक समूहले अवरोध गरेको थियो ।
युवाको उक्त समूहले अवरोध गरेपछि त्यहाँ उपस्थित दुईपक्षबीच दोहोरो चर्काचर्की समेत भएको थियो । आक्रोशित युवाको उक्त समूहले भवनमा राखिएको शिलालेख भत्काएका थिए भने मन्त्री राईलाई त्यहाँबाट जान दबाब समेत दिएका थिए ।
निर्वाचनको मुखमा मतदातामाझ आफ्नो प्रभुत्व कायम गर्न राजनीतिक मुद्दा बनाएको भन्दै मन्त्री राई र भवन उद्घाटन गर्न व्यवस्थापन मिलाउनेविरुद्ध युवाको उक्त समूहले चर्को आलोचना र नाराबाजीसमेत गरे ।
मन्त्री राई लगायतका व्यक्तिहरुमाथि युवाको उक्त समुह खनिएपछि अवस्था असामान्य बन्ने भन्दै मन्त्री राई लगाएतको समूह त्यहाँबाट बाहिरिएको मंन्दिर संरक्षण समितिका एकजनाले बताए । साथै उनले भवन उद्घाटन विषय पनि समितिलाई जानकारी नभएको बताए ।