कांग्रेस गठबन्धनको बाटोमा छ : पूर्वमन्त्री गिरी
Monday, September 5th, 2022, 7:25 pm
Kalpristha
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले नेपाली कांग्रेस गठबन्धनको बाटोमा अगाडि बढिसकेको बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाँकेले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानलाई सम्बोधन गर्दै उनले गठबन्धनको मनस्थिति बनाएर अघि बढ्न आह्वान गरे ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि बाँकेमा खटिएका गिरीले पार्टीले चुनावमा सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले गठबन्धनलाई सफल बनाउन सबै कांग्रेसजनलाई प्रतिबद्ध भएर लाग्न आह्वान गरे ।
स्थानीय चुनावमा कांग्रेसले उल्लासपूर्ण विजय हासिल गरेको बताउँदै उनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सुखद नतिजा आउने विश्वास ब्यक्त गरे । उनले समयमै उम्मेदवारहरुको टुंगो लगाउनुपर्दछ भन्ने आम कांग्रेसजनको भावनालाई पार्टीले गम्भीरतापूर्वक लिने बताए ।
लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेक नारायण भुषालले पार्टीले वस्तुगत अवस्थाको विश्लेषण गरेर गठबन्धनकारी दलहरुका वीचमा सिट बाँडफाँड गर्नुपर्ने बताए । उनले बाँकेका तीन वटै क्षेत्रमा कांग्रेस एक्लै लड्न सक्षम भएपनि पार्टीको निर्णयलाई स्विकार्नुको विकल्प नरहेको बताए । गठबन्धनमा रहेका दलहरुले दम्भ देखाउन नहुने भन्दै भुषालले धरातलीय यथार्थलाई सबैले बुझ्नुपर्ने बताए ।
कार्यक्रममा महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सन्जुकुमारी चौधरी, पार्टीका निवर्तमान सचिव एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधि संगिता थारु, क्षेत्र नम्बर १ का निवर्तमान सभापति क्षेत्रीय सभापति माधवराम खत्री, नेपाल तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मतकुमार न्यौपाने, राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर रानाले सम्बोधन गरेका थिए ।