लुम्बिनीमा रोपाइँ गरिएको क्षेत्र घट्यो
Tuesday, September 6th, 2022, 7:20 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २१ भदौ
देशभरमा धान रोपाइँ सकिँदा लुम्बिनी प्रदेशमा भने यो वर्ष रोपाइँ क्षेत्र घटेको छ । लुम्बिनी प्रदेशमा ८ हजार हेक्टरले रोपाइँ भएको क्षेत्र घटेको हो ।
त्यस्तै प्रदेश एक, गण्डकी र कर्णाली प्रदेशमा पनि रोपाई गरिएको क्षेत्र घटेको छ । गण्डकी प्रदेशमा ३ हजार हेक्टरले रोपाइँ भएको क्षेत्र घटेको छ । मधेश प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ भएको क्षेत्रफलमा वृद्धि देखिए छ ।
मौसमी प्रतिकूलताका बीच देशभर यो वर्ष १४ लाख ३१ हजार ४०९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । जुन गतवर्ष भन्दा ४ हजार हेक्टरले बढी हो । गत वर्ष १४ लाख २७ हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।
गत वर्षभन्दा रोपाइँ योग्य क्षेत्रफल बढेपछि समयमै वर्ष नहुँदा थपिएको रोपाँ हुने क्षेत्रको धान रोपाइँ प्रभावित हुन पुगेको मन्त्रालयको भनाइ छ । यो वर्ष कुल रोपाइँ योग्य जमिनको क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टरबाट बढेर १५ लाख ४ हजार ४८६ हेक्टर पुगेको थियो ।
प्रदेश १ मा यो वर्ष गत वर्ष भन्दा ५ हजार हेक्टर कम क्षेत्रफलमा धान रापाइँ भएको छ । यो वर्ष प्रदेशमा ३ लाख ३१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यहाँ ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।
मधेश प्रदेशमा यो वर्ष १५ हजार हेक्टर थप क्षेत्रफलमा रोपाइँ भएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने प्रदेशमा गत वर्ष ३ लाख ५३ हजार ९०२ हेक्टरमा धान रोपाइँ भएको थियो । यो वर्ष प्रदेशमा ३ लाख ७८ हजार ३५६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
यस्तै बागमती प्रदेशमा थप ४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ बढेको छ । यो प्रदेशमा गत वर्ष एक लाख १३ हजार हेक्टरमा धान रोपाइँ भएकामा यो वर्ष एक लाख १७ हजार २६९ हेक्टरमा रोपाइँ भएको छ ।
सुदूरपश्चिम प्रदेशमा पनि यो वर्ष रोपाइँ भएको क्षेत्रफलमा उल्लेख्य वृद्धि छ । प्रदेशभर यो वर्ष गत वर्ष भन्दा १५ हजार हेक्टर बढी क्षेत्रफलमा यो वर्ष रोपाइँ भएको छ । प्रदेशभर यो वर्ष एक लाख ७८ हजार १६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष प्रदेशमा एक लाख ६३ हजार ९७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा गत वर्ष भन्दा ५ सय हेक्टरले धान रोपाइ हुने क्षेत्र थपिएको छ ।