नवनियुक्त क्यान्सर अस्पतालका अध्यक्ष मल्ललाई सम्मान
Wednesday, September 7th, 2022, 8:13 pm
Kalpristha
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्ललाई बुधबार नेपालगन्जमा सम्मान गरिएको छ । अध्यक्ष मल्ललाई एकीकृत समाजवादी निकटको अनेरास्ववियु बाँकेले सम्मान गरेको छ ।
अनेरास्ववियु बाँकेका अध्यक्ष इन्द्रबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनार, केन्द्रीय सदस्य अव्हुद हुँसेन खाँ, जिल्ला अध्यक्ष इन्द्रबहादुर थापालगायतले मल्ललाई सम्मान गरेका छन् । सो अवसरमा नेता सुनारले अस्पताललाई देशकै नमूना अस्पतालको रुपमा सुधार र विकास गर्न अध्यक्ष मल्ललाई केन्द्रीत हुन आग्रह गरे ।
क्यान्सरको उपचारका लागि भारत र चितवन तथा राजधानी जानुपर्ने अवस्था अन्त्य गराउन अध्यक्ष मल्ललाई आफुले सहयोग गर्ने सुनारले बताए ।
सो अवसरमा अध्यक्ष मल्लले सबै पक्षको साथ र सहयोगमा अस्पताललाई देशकै अव्वल अस्पतालको रुपमा अघि बढाउन पहल गर्ने बताए । खजुराबासीले व्यक्तिगत सहयोगबाट अस्पताल निर्माण भएको भन्दै उनले सबैको साथ र सहयोग अपरिहार्य भएको बताए ।
अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रदेश अध्यक्ष मल्ललाई हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।