नजन्मदै ८ शिशुको मृत्यु
Thursday, September 8th, 2022, 7:10 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा एक वर्षको अवधिमा ८ जना शिशुको जन्म नहुँदै ज्यान गएको छ । खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो वार्षिक समिक्षा गोष्ठिमा ८ जना बच्चाको ज्यान गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
७सय ५५ जना सुत्केरीमा मृत बच्चाको संख्या ८ रहेको छ । जसमध्ये १ जनाको भने शिशुको भने स्वास्थ्य संस्थामा ज्यान गएको हो ।
सोनपुर र उढरापुरमा बढी मृत बच्चा जन्मिएको देखिएको शाखाले जनाएको छ । नियमित गर्भवति चेकजाँच नहुनु, जटिल अवस्थामा पनि डाक्टरलाई चेकजाच नगराउनु र स्वास्थकर्मीले दिएको सुझावलाई नमान्दा शिसुको ज्यान गएको पाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
सुत्केरी बेथा लाग्नसाथ स्वास्थ्य संस्थामा समयमै नजानु, जनचेतनाको अभाव, गर्भमा बच्चा हुँदा पोषिलो खानेकुराको कमी, आमाको नियमित स्वास्थ चेकजाँच नगर्दा शिशुले ज्यान गुमाउन परिरहेको अवस्था देखिएको छ । मृत बच्चा जन्मने मधेसी तथा मुस्लिम समुदायमा धेरै देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य प्रोटोकल अनुसार पहिलोपटक गर्भवती जाँच गराएका गर्भवती महिला १०८ प्रतिशत रहेकोमा प्रोटोकल अनुसार पहिलोपटक ४ पटक गर्भवती महिला ९८ प्रतिशत रहेको स्वास्थ्य शाखाका प्रमुख दिपक ढकालले जानकारी दिए । खजुरामा सुत्केरी हुने सोनपुर, उढरापुर र रनियापुरमा अधिक रहेको स्वास्थ्य शाखा प्रमुख ढकालले जनाए । स्वास्थ्य शाखाले स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगती तथा समिक्षा गोष्ठिमा विगत ३ वर्षयता स्वास्थ्य सस्थाामा सुत्केरी सेवा लिनेहरु पनि बढेको जनाएको छ ।
गोष्ठीमा सहभागीहरुले स्वास्थ्यको कार्यक्रमको प्रभावकारिता बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडाध्यक्ष पूर्ण बहादुर भण्डारीले स्वास्थ्य क्षेत्रमा कुनै पनि खेलबाड गर्न नहुने भन्दै विषेश ध्यान दिन अनुरोध गरे ।
वडाध्यक्ष भण्डारीले बिरामीको सेवामा कुनै पनि कमजोरी नगर्न स्वास्थकर्मीहरुलाई अनुरोध गरे ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले स्वास्थ्य क्षेत्रमा भएको आगामी बजेटलाई कसरी सदुपयोग गर्ने भन्नेमा सकारात्कम हुनपर्नेमा जोड दिए । स्वास्थ्यकर्मीको व्यवहार परोपकारी हुन आवश्यक रहेको बताए ।
खजुरा गाउँपालिकाले ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम पनि संचालन गर्न लागेको जानकारी गराउँदै उनले यसका लागि १८ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको उल्लेख गरे । गोष्ठीमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, स्वयम् सेविका, ८ वटै वडामा रहेका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सो गोष्ठीमा सोनपुर स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ । समर्ग स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेवापत नगद ५ हजार रुपैयाँसहित पालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले सोमपुर स्वास्थ्य चौकीलाई सम्मानसहित पुरस्कृत गरे ।