छाडा पशुचौपाय व्यवस्थापनका लागि पहल
Thursday, September 8th, 2022, 7:15 pm
Kalpristha
नेपालगन्जमा छाडा पशुचौपायको समस्या समाधानका लागि पहल अघि बढाइएको छ । नेपालगन्ज उप–महानगरपालिकाले बिहीबार सर्वपक्षीय बैठक आयोजना गरेर छाडा पशुचौपायको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना बनाएको छ ।
बैठकको निर्णयअनुसार यहि भदौ महिनाभित्र पशुचौपाय (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन आग्रहसहित माइकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौ मसान्तपछि पशुचौपाय छाडा छोढ्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशुचौपायलाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए ।
छाडा पशुुचौपायका कारण नगरको ट्राफिक व्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशुचौपायलाई अन्यत्र राखेर अल्पकालीन व्यवस्थापनमा तत्काल जुटेको बताए ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमा पारीबाट छाडा पशुचौपाय आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए । ट्राफिक व्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको व्यवस्थापन आवश्यक भएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले छाडा पशुचौपायको व्यवस्थापनका लागि अन्तर पालिका समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए । नगर उपप्रमुख कमरुद्दीन राईले छाडा पशुचौपायको व्यवस्थापनका लागि उप–महानगरपालिका अब कडाईका साथ प्रस्तुत हुने बताए ।
नेपालगन्जमा छाडा छोडिएका मध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजीहाउसमा राखे पनि लिन कोही नआउने कांजीहाउसका कर्मचारीको भनाइ छ । गधा, खच्चड र घोडा भने जरिबाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन् । छाडा पशुचौपायहरु कांजीहाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने भएको छ ।