५९ डाक्टरद्वारा सामुहिक राजीनामा
Thursday, September 8th, 2022, 7:22 pm
Kalpristha
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले सामूहिक राजीनामा दिएका छन् । बुधबार बेलुका उनीहरूले सामूहिक रूपमा राजीनामा दिएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए ।
प्रतिष्ठानमा रहेका ५९ जना डाक्टरहरुको समूहले राजीनामा दिएको महतले बताए।
प्रतिष्ठामा जम्मा ११० जना चिकित्सक छन् । चिकित्सक बाहेकका अरू कर्मचारी तथा स्वास्थ्यकर्मीको भने राजीनामा दिएका छैनन् ।
प्रतिष्ठनमा कार्यरत डा. करण साहलाई जुम्ला जिल्ला अदालतले पक्राउ गर्न मंगलबार पुर्जी जारी गरेको थियो । उनीमाथि बाल हिंसा गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि प्रहरीले चलाएको प्रक्रियाअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
भदौ २ गते प्रतिष्ठानमै कार्यरत ओपिडी असिस्टेन्ट धनबहादुर शाहीले आफ्नो छोरोको उपचार गर्न इन्कार गरेको भन्दै डा. साहमाथि कुटपिट गरेका थिए । कुटपिटपछि उनी प्रहरीको नियन्त्रणमा छन् ।
कुटपिट गर्ने धनबहादुरकी श्रीमती आशा हमाल शाहीले डा. साहविरूद्ध उजुरी दिएकी हुन् ।
डाक्टरलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा कर्णाली स्वास्थ्य विज्ञानमा स्वास्थ्यकर्मी तथा डाक्टरहरू आन्दोलन गरिरहेका छन् । मंगलबारदेखि नै प्रतिष्ठानमा इमरजेन्सी बाहेकको सेवा ठप्प पारिएको छ ।
डाक्टरमाथि कुटपिट गर्ने शाहीलाई प्रतिष्ठानको जाँचबुझ समितिले ४५ दिनसम्मका लागि निलम्बन गरेको छ ।