कृषि तालिम केन्द्रद्वारा ५ सय बढीलाई तालिम
Thursday, September 8th, 2022, 7:41 pm
Kalpristha
खजुरामा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले बिहीबार आफ्नो वार्षिक कार्यक्रम तथा उपलब्धी सार्वजनिक गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको प्रमुख आतिथ्यतामा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका निमित्त प्रमुख विवेक पन्तले आर्थिक वर्ष २०७८।०७९ का उपलब्धी एवम् आर्थिक वर्ष २०७९।०८० को कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रस्तुुतिकरण गर्दै प्रमुख पन्तले आर्थिक वर्ष २०७८।०७९ मा ५ सय ८१ जना कृषक, कर्मचारी, व्यवसायि लगाएतलाई कृषि सम्बन्धी तालिम उपलब्ध गराइएको बताए । तालिम केन्द्रमा रहेको धान रोप्ने मेसिनको प्रयोग गरि ३० हेक्टर भन्दा धेरै क्षेत्रफलमा धान रोपाइ गरिएको उनले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७९।८० का लागि ३ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रमुख पन्तले जनाकारी दिए । जसमा पुँजीगततर्फ ७९ लाख रुपैयाँ र चालूतर्फ २ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
पन्तका अनुसार आर्थिक वर्ष २०७९।८० मा कृषि व्यवसाय प्रवद्र्धनले कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमअन्तर्गत १० वटा कार्यक्रम संचालन हुनेछ । त्यस्तै कृषि क्षमता अभिवृद्धि तथा सिप विकास कार्यक्रमअन्तर्गत ११ पटक तालिम तथा गोष्ठी आयोजना हुने पन्तले बताए ।
त्यस्तै कार्यक्रममा प्रमुख पन्तले अघिल्लो वर्षको तुलनामा यो वर्ष कार्यक्रम घटेर आएको बताए । गत वर्ष सुरुमा ३ करोड ५५ लाख थियो । जो संसोधन भएर ३ करोड ६१ लाख रुपैयाँ पुगेको थियो । जसअनुसार यो वर्ष ४० लाख रुपैयाँ कम बजेट घटेर आएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि कृषि प्रमुख ज्ञान केन्द्रका प्रमुख सागर ढकालले कृषि तालिम केन्द्रको काम सन्तोषजनक रहेको बताए । उनले व्यवसायी प्रवद्धनको क्षेत्रमा केही कमजोरी देखिएको बताए । उनले तालिम केन्द्रले दिने तालिमको उपलब्धीअनुसार व्यवसायी प्रवद्र्धन हुने किसिमका तालिमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । साथै ढकालले व्यवहारिक कक्षाको पनि आवश्यकता रहेको बताए ।
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमख विनोद घिमिरेले कार्यक्रममा केही ग्याप देखिएको तथा स्थानीय स्तरमा रहेका कृषि प्रविधिकहरुलाई दिइने तालिमको अभाव देखिएको बताए । कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, कर्मचारी र पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।