भिजिट भिसामा २ लाख नेपाली विदेशिए
Friday, September 9th, 2022, 11:15 am
Kalpristha
सन् २०२० देखि हालसम्म भिजिट भिसामा भण्डै २ लाख नेपाली विदेशिएका छन् । पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् १ लाख ९७ हजार ३ सय १७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ ।
जसमाा सबैभन्दा बढी दुबई भिजिट भिसामा नेपाली पुगेका छन् । दुई वर्षको अवधिमा १ लाख १९ हजार ११ जना दुबई पुगेको अध्यागमन कार्यालयले जनाएको छ ।
त्यस्तै भिजिट भिसामार्फत् मलेसिया, साउदी, कतार लगायतका देशमा जाने क्रम पनि बढी देखिएको कार्यालयका सूचना अधिकारी राजकुमार राईले बताए । गत साउनमा मात्रै २७ हजार ६२५ जना भिजिट भिसामार्फत् विदेशिएका छन् । जबकि २०७७ को फागुनमा ६ हजार ४२२ जना मात्र भिजिट भिसामार्फत् विदेशिएका थिए । कोरोना महामारी सहज भएसँगै भिजिट भिसामार्फत् विदेशिने क्रम बढेको देखिएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १ लाख १३ हजार ६२७ जना भिजिट भिसामार्फत् विदेशिए । दुबईमा सन् २०२० देखि हालसम्म १ लाख भन्दा बढी नेपाली भिजिट भिसामार्फत् गएको देखिन्छ । पछिल्लो तीन महिनामा मात्रै २० हजार भन्दा बढी भिजिट भिसामार्फत् दुबई पुगेका छन् । भिजिट भिसामार्फत् जाने क्रम बढेसँगै समस्या पर्ने क्रम पनि बढ्दो छ । वैदेशिक रोजगार उद्दार नेपाल (रेस्क्यू नेपाल) का अध्यक्ष इन्द्रलाल गोलेले दुबईमा ५ हजार भन्दा बढी नेपाली उद्दारको पखाईमा रहेको बताए ।
कोरोना महामारीपछि यो क्रम निकै बढेको उनको भनाई छ । ‘अहिले देशमा रोजगारीको अवसर कम छ । विदेशमा रहेका दलालहरू पनि सक्रिय देखिएका छन् । उताबाट भिजिट भिसामा बोलाउने र अलपत्र पार्ने क्रम निकै बढी देखियो,’ अध्यक्ष गोलेले भने । भिजिट भिसामार्फत विदेशिए पनि कति जना नेपाल फर्किए भन्ने विवरण सरकारसँग छैन ।