भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा
Friday, September 9th, 2022, 6:31 pm
Kalpristha
नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।
खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा नेपालले दुई गोल गर्यो ।
खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए ।
यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
नेपाल समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३–० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।