डेंगुविरुद्ध नेपालगन्जमा सप्ताहव्यापि कार्यक्रम
Friday, September 9th, 2022, 7:11 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान संचालन गर्ने भएको छ । डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्दीन राईले डेंगु रोग नियन्त्रणका र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधीमा जोड दिइएको बताए ।
नगर उपप्रमुख राईले डेंगुविरुद्धको अभियानमा सम्पूर्ण नगरबासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. राजन पाण्डेले डेंगु अहिले विश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधि सेवन नगर्न सुझाव दिए ।
डेंगु भए पनि ९९ प्रतिशत आफैं निको हुने भन्दै उनले स्वास्थ्य सेचतना आवश्यक भएको बताए । भेरी अस्पतालमा डेंगु भन्दा स्क्रब टाइफसलगायतका बिरामी बढी भएको उनले बताए ।
भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईले अस्पतालमा बिरामीको चाप अधिकत रहेको र शै्या अभाव रहेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, किटजन्य रोग फोकल पर्सन दुगौ गौतम, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, तेज वलीलगायतले लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष दिनुपर्नेमा जोड दिए ।
कोभिड वार्डमा डेंगुका बिरामी
भेरी अस्पताल, नेपालगञ्जले कोभिडका लागि छुट्याएको वार्डमा डेंगुलगायतका बिरामी राखिएको छ । कोभिडको बिरामीहरु बढ्न थालेपछि अस्पतालले त्यसका लागि एउटा छुट्टै वार्ड छुट्याएको थियो । अहिले आएर कोभिडको भन्दा डेंगुलगायतका विरामी बढेपछि उक्त वार्डमा ती विरामीलाई राखिएको हो ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. बद्री चापागाईले अस्पतालमा डेंगुलगायतका बिरामीलाई राख्ने ठाउँ नभएपछि कोभिडका लागि छुट्याइएको वार्डमा राखिएको जानकारी दिए । उनका अनुसार भेरीमा बिरामी बढेर राख्ने ठाउँ नभएपछि कोभिडका लागि छुट्याइएको वार्डमा डेंगुका बिरामी राखिएको हो । जसमा घण्टामै २२ बेड भरिएको थियो ।
भेरी अस्पतालमा १ सय ५० बेड छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा विरामी बसेका छन् ।
डा. राजन पाण्डेले सन् २००४ मा एक जना डेंगुको बिरामी फेला परेको नेपालमा २०१९ देखि ह्वात्तै बढेको जानकारी दिए । डा. पाण्डेका अनुसार, डेंगुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन । लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत विरामीलाई गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।
अस्पतालमा डेंगुलगायतका विरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेंगुबाट दुई जनाको मृत्यु भइसकेको छ ।