बाँकेका ४७ पत्रकारको नि:शुल्क मृगौला परीक्षण
Saturday, September 10th, 2022, 7:15 pm
Kalpristha
प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाँकेका पत्रकारको शनिबार नि:शुल्क मृगौला परीक्षण गरिएको छ । पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जको सह–आयोजनामा ४७ जना पत्रकारको मृगौला परीक्षण गरिएको हो ।
अस्पतालका रेडियोलोजिष्ट डा. रबि भुषणप्रसाद चौरसिया, प्याथोलोजिष्ट डा. सर्मिला गुप्ता, डा. दिपक जैसवाल, डा. सुभम गुप्तालगायतको टिम पत्रकारहरुको उपचारमा खटिएको म्यानेजर किरण ऐरीले जानकारी दिए । परीक्षण गराएका केहीको मृगौला अवस्था सामान्य भए पनि अधिकांस पत्रकारमा पथ्थरी, फ्याटी लिभर(ग्रेट वान/टु), मृगौला सुन्निएको, मृगौला र पिसाबमा इन्फेक्सन, सुगरलगायत समस्या देखिएको उनले बताए ।
पत्रकारको मृगौला परीक्षण गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपालगन्ज उप–महानगरपालिकाका निवर्तमान उपमेयर उमा थापामगर, प्रत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाइँ, वरिष्ठ पत्रकार जे. पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतम, जिल्ला सचिव कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष दक्त धिताललगायतले प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय गुप्ताको योगदानबारे चर्चा गरेका थिए । स्वर्गीय गुप्ताले पत्रकारिता क्षेत्रमा मात्र नभएर लोकतन्त्रका लागि पनि उत्तिकै योगदान गरेको बक्ताहरुले बताए ।

.
प्रतिष्ठानका अध्यक्ष एवम् नेपालगन्जका पूर्वमेयर विजय गुप्ताले आफ्ना पिताले पत्रकारिता क्षेत्र, लोकतन्त्र प्राप्तीका लागि पुर्याएको योगदानको कदर स्वरुप मानसम्माान प्राप्त गरेको बताए । पत्रकारकै संघ, संगठनको संयुक्त पहलमा आफ्ना स्वर्गीय पिताको सम्मान स्वरुप नेपालगन्जमा चोक नामाकरणले पूर्णता पाउने विश्वास लिए ।
स्वर्गीय गुप्ताको यही भदौं २७ गते ९४ औं जन्मजयन्ति मनाइँदैछ । जन्मजयन्तीका अवसरमा आश्रममा रहेका बृद्धबृद्धालाई खाना खुवाउने, रक्तदान, अन्तरक्रियालगायत कार्यक्रम पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।