कमिट नेपालको साधारसभा सम्पन्न
Monday, September 12th, 2022, 7:12 pm
Kalpristha
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेको १५औं साधारणसभा तथा ८औं अधिवेशन नेपालगन्जमा सोमबार सम्पन्न भएको छ ।
‘अधिकार, सामाजिक न्याय, आत्मसम्मान, सशक्तिकरण तथा रुपान्तरणका लागि सामुदायिक अभियान’ भन्ने नाराका साथ अधिवेशन गरिएको हो । कमिट नेपालका अध्यक्ष प्रकाश वादीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशभरका वादी समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरीले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए ।
कमिट नेपालका उपाध्यक्ष विष्णु वादीले हरेक वादी समुदायका महिलाको जिल्लासँगै केन्द्रसम्म प्रतिनिधित्व हुनुपर्ने, खेतीयोग्य जमिन पाउनुपर्ने, अरु सरह अधिकार पाउनुपर्ने, वादी समुदायका बालबालिकाले अरु सरह पढन पाउनुपर्ने, वादी समुदायका हरेक माग सम्वोधन हुनुपर्ने बताए ।
राष्ट्रिय वादी संजालका अध्यक्ष तथा कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले वादी समुदाय आफैंमा सशक्त हुनुपर्ने र मानवीय स्रोतको रुपमा परिचालित हुनुपर्नेमा जोड दिए ।
अधिवेशनमा सेफ नेपाल बाँकेका अध्यक्ष शुक्ला नेपाली, कमिट नेपालका अभियन्ता सुशिला वादी लगायतले बोलेका थिए ।