नेपालगन्ज–गुलरिया फोरलेन बनाउन शिलान्यास
Wednesday, September 14th, 2022, 6:13 pm
Kalpristha
नेपालगन्ज–गुलरिया सडक खण्डलाई फोरलेन बनाउन बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री इस्तियाक राईले शिलान्यास गरेका छन् । नेपालगन्जको धम्बोझी चौकीबाट बर्दियाको गुलरियासम्म जोड्ने करिब ३५ किलोमिटर क्षेत्रफल सडक फोरलेन बन्नेगरी शिलान्यास गरिएको हो ।
यही सडक खण्डअन्तर्गत यसअघि नै खजुरा बजार र गुलरिया बजार क्षेत्रको सडक फोरलेनका लागि निर्माण सुरु भएर अवधी सकिए पनि दुवै ठाउँमा निर्माण कार्य पूरा भएको छैन ।
सो सडक खण्डको बाँकी भागमा पनि फोरलेन सडक निर्माण गर्ने उद्देश्यले आयोजित शिलान्यस कार्यक्रममा बोल्दै मन्त्री राईले निर्माण कार्य निर्धारित समयमा पूरा गर्न बजेटको कमी नहुने बताए । उनले यसअघि खजुरा र गुलरियामा निर्माण गर्ने निर्माण कम्पनीलाई २४ घण्टे पत्र काटेर कारवाही अगाडि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिए । मन्त्री राईले आफू मन्त्री भएको २ महिना १० दिनमा विकासका आयोजनाहरुको शिलान्यस हुँदा विपक्षीहरुले सामाजिक संजालमा आफ्नो खेदो खन्ने गरेको भए पनि ती सबै आयोजना पूरा गर्ने प्रतिवद्धता जनाए ।
हिजो आफू शहरी विकास मन्त्री हुँदा पनि आफूले शिलान्यास गरेका सबै विकासे योजना पूरा भएको उनले दावी उनले गरे ।
कार्यक्रममा पूर्व सिँचाइमन्त्री संजय गौतम बाँके र बर्दियाका जनप्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापालगायतले नेपालगन्ज गुलरिया सडक खण्डको काम निर्धारित समयमा हुनु पर्नेमा जोड दिए ।

.