बालदिवसको अवसरमा खजुरामा वक्तृत्वकला
Wednesday, September 14th, 2022, 6:18 pm
Kalpristha
५८औं राष्ट्रिय बाल दिवसको अवसरमा खजुरामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । खजुरामा रहेका विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता संचालन गरेर दिवस मनाइएको हो । ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने शिर्षकमा प्रतियोगिता संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
महिला तथा बालबालिका शाखा र शिक्षा शाखाको सयुक्त आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जनता नमुना माविका करुणा खत्रि प्रथम भएकी छन् । त्यस्तै प्रतियोगितामा भानु माविका मोहिनी गार खाँ द्धितीय, ज्ञानोदय नमुना माविका प्रियंका चौधरी तृतीय र इट्रिग्रेटेड एकेडमीका एलिजा गुरुङ सान्तावना भइन् ।
गाउँपालिकाका प्रमुख विक, उप प्रमुख मल्लले प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तावना भएकालाई क्रमस : ३ हजार, २५ सय, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालिकाका प्रमुख विकले बालबालिकाको अधिकार सुनिश्चित गर्न गाउँपालिका सकारात्मक रहेको बताए । प्रमुख विकले बालबालिका मैत्रि विद्यालय तथा कार्यालय बनाउन अपरिहार्य रहेको भन्दै सम्बन्धित कार्यालयहरुलाई यसतर्फ ध्यान दिन निर्देशन दिए ।
गाउँपालिकाका उप प्रमुख मन्जु मल्लले बालबालिका नै पछिका देश समाज हाक्ने कर्णधार भएकाले जग नै बलियो बनाउन आवश्यक रहेको उल्लेख गरिन । खजुराको शिक्षामा आमुल परिवर्तन ल्याउने गरि गाउँपालिकाले कार्यक्रमहरु समेत ल्याएको र उक्त कार्यक्रमहरु कार्यान्वयनको अवस्थामा रहेको उल्लेख गरिन । डेक नेपालको सहयोगमा भएको वक्तृत्वकला प्रतियोगितामा वडाकार्यालयहरुको समन्वयमा सम्पन्न भएको थियो ।
खजुरा गाउँपालिकाका प्रमुख डम्बर बहादुर विक, उप प्रमुख मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्याय, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, शिक्षक तथा विद्यार्थिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा ११ विद्यालयका १४ जना विद्यार्थिहरुले सहभागिता जनाएका थिए ।