बालदिवसमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान
Wednesday, September 14th, 2022, 9:54 pm
Kalpristha
बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बालदिवसको अवसर पारेर बुधबार महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्वोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुवै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो ।
.
कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नु मात्र नभएको बताउँदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिकरुपमा विकास हुँदै जाने बताए । उनले सर्वोत्कृष्ट २ जनालाई जसरी ल्यापटप प्रदान गरिएको छ यसैगरी मेहनत गर्ने र सर्वोत्कृष्ट हुने सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने उनको भनाइ थियो ।
त्यस्तै सोही गाँउपालिकाको वडा नं. ६ मा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले आजै ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको थियो । वक्तृत्वकलामा उत्कृष्ट भएकाहरुलाई गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पुरस्कार वितरण गरे ।
.