सडकपेटी अतिक्रमणविरुद्ध नेपालगन्जको प्रचारबाजी प्रयास
Thursday, September 15th, 2022, 12:42 pm
Kalpristha
जो प्रहरी सडकपेटी खाली गराउन हिड्छन्, सोही प्रहरीका प्रयोगबिहीन प्रहरी बिट सडकपेटीमा राखिएका छन् । नेपालगन्जको भेरी अस्पताल अगाडि विगत लामो समयदेखि प्रयोगविहीन रहेको प्रहरी बिट सडकपेटीमा राखिएको छ ।
विक्रम बुढाक्षेत्री
सडक एवम् सडकपेटी अतिक्रमणको विषय हाल देशभरी नै चर्चामा रहेको छ । नेपालगन्जमा पनि केही समय यसले चर्चा पाएको थियो । नेपालगन्जका उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टलगायत उद्योग वाणिज्य संग नेपालगन्ज, जिल्ला प्रहरी तथा ट्राफिक प्रहरी र नगर प्रहरीको टिमले केही दिन नेपालगन्ज सहर क्षेत्रमा सडक तथा सडकपेटी अतिक्रमणविरुद्ध प्रयास गरे । तर सो अभियान हाल आएर शून्य जस्तै बनेको छ । सडकपेटी अतिक्रमणविरुद्ध नेपालगन्जले थालेको प्रयास प्रचारबाजीमात्र सिमित देखियो । प्रतिफल भने केही देखिएन् ।
भदौ १२ गते ठूलो तामझामसहित नेपालगन्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टको नेतृत्वमा सडकपेटी खाली गराउने अभियान सुरु भएको थियो भने नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रहरीले ३ महिना अघिदेखि नै सडकपेटी खाली गराउने अभियान सुरु गरेको थियो । तर नेपालगन्जको अवस्था फेरी उस्तै अवस्थामा पुगेको नगर प्रहरी प्रमुख सूर्य बोगटी बताउँछन् ।
‘हामी फिल्डमा लागुन्जेल खाली हुन्छ । फेरी उस्तै हुन्छ । अब उनीहरुलाई पिटन भएन मार्न भएन । सम्झाउने हो । उनीहरुको सामान ल्याएर कारबाही गर्ने हो । जति गरे पनि उस्तै अवस्था रहेको छ,’ प्रमुख बोगटीले बताए ।
यता नगर प्रमुख विष्ट भने ‘यो एकै पटकमा हुने कुरा हैन । यसलाई अभियानका रुपमा लैजानु पर्छ’ भन्ने गर्छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चुन्नाले नेपालगन्ज उप–महानगरपालिकाको अभियानमा भने संघको पूर्ण साथ र समर्थन रहेको बताउँछन् ।
नेपालगन्ज उप–महानगरपालिकासँग केही सडक एकतर्फी गर्ने योजना छ । ट्राफिक व्यवस्थापनका लागि एक महिनासम्म अभियान चलाइने र पछि पनि निरन्तरता दिइने विष्टले बताउँछन् । उनीको फुटपाथ खाली गराउने हो भने व्यापार व्यवसायसमेत राम्रो हुने भनाइ छ ।
तर नेपालगन्जको सौन्दर्य र अतिक्रमण फुटपाथ तथा सडकपेटी अतिक्रमणविरुद्ध सार्वजनिक सडक ऐनले नै स्थानीय निकायलाई स्वामित्व दिएको छ । अतिक्रमण हटाउन नेपालगन्ज उप–महानगरपालकाको कमजोरी भनेकै सडक ऐनलाई कार्यान्वयन गर्न नसक्नु हो ।
यसका प्रहरीको पनि कमजोरी छ । जो प्रहरी सडकपेटी खाली गराउन हिड्छन्, सोही प्रहरीका प्रयोगबिहीन प्रहरी बिट सडकपेटीमा राखिएका छन् । नेपालगन्जको भेरी अस्पताल अगाडि विगत लामो समयदेखि प्रयोगविहीन रहेको प्रहरी बिट सडकपेटीमा राखिएको छ । जसले पूर्णरुपमा सडकपेटीलाई अवरुद्ध गरेको छ ।
उसोत विभिन्न समाचार माध्याममा तथा कालपृष्ठ दैनिक पत्रिकामा सडकपेटी अतिक्रमण तथा अव्यवस्थित ठेला व्यवसायसम्बन्धी समाचार प्रकासन भएपछि नगर प्रहरीले केही कडाई गरेको पनि पाइयो । जसको परिणाम धेरै समयदेखि उप–महानगरपालिका आगडि नै अस्थव्यस्थ तरिकाले लगाउने गरिएका ठेला व्यवसायीलाई त्येहाबाट हटाइएको थियो । नो पार्किङमा सवारी साधन पार्किङ गरिएको कम पाइयो ।
नगर प्रहरी प्रमुख बोगटी आफूहरुलाई आउने आदेशअनुसार आफूहरुले काम गर्ने गरेको बताउँछन् । उनले कालपृष्ठसँग भने, ‘हामी भनेको काम गर्ने कर्मचारीमात्र हो । नीतिनियम बनाउने, आदेश दिने भनेको जनप्रतिनिधिले हो । हामीलाई जस्तो आदेश आउछ, सोही अनुसार हामीले काम गर्ने हो ।’
सडकपेटी अतिक्रमण हटाउन जनप्रतिनिधि नै कमजोर भएको देखिन्छ । जनताको भोटबाटै निर्वाचित जनप्रतिनिधि जनतामाथि नै कठोर हुन नसक्नु यसको प्रतिफल हो । यस विषयमा नगरपालिकाका कर्मचारी पनि सहमत भएको पाइन्छ । उनीहरु स्थानीय निकाय राजनीतिक कार्यालय भएकाले जनप्रतिनिधिहरुले कडा आदेश दिन नसक्ने गरेको बताउँछन् ।
बोगटी पनि सोही विषयमा समर्थन दिँदै भन्छन्, ‘जनताको भोटबाटै उहाँहरु यहाँ आउनु भएको हो । त्यसैले जनतालाई घाटा हुने निर्णय गर्न जनप्रतिनिधिहरु अलि पछि परेको जस्तो मलाई लाग्छ ।’ सडकपेटी अतिक्रमण गरेर संचालन भएका व्यवसायीहरुलाई हामीले सम्झाउने मात्र गरेको उनले बताए ।

.
आजका दिनअघि नगर प्रहरी, ट्राफिक प्रहरीको टोली धेरैपटक सेतु विक आसपासमा सडकपेटी अतिक्रमण हटाउन आइसकेको छ । तर सेतु विके चोकमा विगत दुई महिना बढी समयदेखि घर बनाउनका लागि सडकपेटीमा राखिएका सामग्रीहरु हटाउन सकेको छैन । किनभने उनीहरु जहिले पनि आउने सम्झाउने गर्छन् ।
यद्यपी नेपालगन्जमा सडकपेटी अतिक्रमण विषयमा जनप्रतिनिधिहरुले गलत गरेको पनि पाइएको छ । एकातिर वडा कार्यालयले नै असान्र्दभिक ढंगले सडकपेटी अतिक्रमण गर्न सिफारिस गर्ने र सो विषयमा प्रमुख विष्ट नै लचिलो भएको पाइएको छ ।
यस विषयमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्य कार्यविधि भएता पनि कार्यान्वयन गर्नै गाह्रो भएको स्वीकारछन् । उनी भन्छन्, ‘घरको पर्खाल लगाउँदा पनि वडा कार्यालयको सिफारिस चाहिन्छ । यहाँ घर बनाउँदा आवश्यक नपेर सिफारिस लिन नआउने वडावासी घर निर्माणका सामग्री बाटोमा राख्नका लागि किन आउन सिफारिस लिन ।’
कानुन व्यवसायी लोकबहादुर शाही सडक तथा सडकपेटीको सुरक्षा तथा त्यसको अतिक्रमण हटाउन पालिकालाई कार्यविधि कै आवश्यक नपर्ने बताउँछन् । उनी यस्ता अतिक्रमण गरिएका र अतिक्रमण गरेर बनाइएका संरचना पालिकाले आफैं हटाउनु पर्ने बताउँछन् ।
त्यस्तै सडकपेटी अतिक्रमका विषमा नेपालगन्जवासी पनि अटेरी भएको पाइन्छ । धम्बोझी चोकदेखि सेतुविक चोकसम्मको सडकपेटी कहिलै खाली भएको पाइँदैन । नेपालगन्ज मेडिकल कलेज अगाडि हुने सावारीसाधन पार्किङले आधा सडकलाई ओगट्दासमेत उप–महानगरले त्यसको व्यवस्थापन गर्नै सकेको छैन । त्रिवेणीमोडदेखि पुरानो टाँगा स्टेसनसम्मको सडकपेटीमा हिँड्ने ठाउँ नै छैन ।
यहाँसम्मकी नेपालगन्जको बजारभित्र यदी कोही व्यक्ति सडक पेटीबाट हिँड्यो भने उसले १ सय मिटर पनि सडकपेटीको प्रयोग गर्न पाउँदैन । यस्ता सडक तथा सडकपेटी अतिक्रमणका दृष्य नेपालगन्जभरी धेरै देख्न सकिन्छ ।
८० प्रतिशत ठेलामा भारतीय नागरिक
नेपालगन्ज नगरभित्र ठेलामा व्यवसायी गर्ने ८० प्रतिशतभन्दा बढी नागरिक भारतिय रहेको नगर प्रहरी प्रमुख बोगटी बताउँछन् । उनी भन्छन्, ‘नेपालगन्जमा एक ठाउँमा राखेर व्यवसायी गर्नेमात्र नेपाली नागरिक हुन् । बाँकी ठेला लिएर बाटो–बाटोमा बिक्री गर्दै हिँड्ने सबै भारतीय नागरिक हुन् ।’
नगर प्रहरीलाई भारतीय नागरिक भएका कारण पनि कारबाहीको दायरामा ल्याउन समस्या परेको छ । ‘ठेला समात्यो, मान्छे भने भारतीय हुन्छन्, उनीहरुको आधारकार्डअनुसार उनीहरुलाई छाड्ने गरेका छौं’, बोगटीले भने ।