पिपुल्स हाइड्रोपावरको आइपिओ खुला
Friday, September 16th, 2022, 3:11 pm
Kalpristha
पिपुल्स हाइड्रोपावरले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित दरका ३२ लाख कित्ता आइपिओ निष्कासन गरेको हो ।
उक्त कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स वडा नं. ६ र ७) का स्थानीय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर छुट्याएको छ ।
त्यस्तै, लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूले ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।
उक्त आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने समयअवधि असोज ३० गतेसम्म लम्बिनेछ ।
कम्पनीको आइपिओलाई केयर रेटिङ नेपाले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिले एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो सेयर एप र वेबसाइटमार्फत आवेदन दिन सकिनेछ ।