शैक्षिक सुधारका लागि बाँकेका २३ वटा विद्यालय छनोट
Friday, September 16th, 2022, 7:12 pm
Kalpristha
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।
छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरीने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आवि चन्नहवा, जनज्योती आवि झण्डहवा र राम मावि हवल्दारपुर छनौट भएका छन् । त्यस्तै बैजनाथको सुर्योदय माविमा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । राप्ती सोनारीको नेपाल राष्ट्रिय मावि गुलरी, जनशक्ती मावि बालापुर, भुवर भवानी मावि बिनौना तथा नेपाल राष्ट्रिय मावि कोदरवटवा छनौट भएका छन् ।
त्यसैगरी दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आवि लखनवार, बैजनाथको बागेश्वरी मावि, राप्ती सोनारीको नेपाल राष्ट्रिय मावि अगैया, बालशान्ती आवि भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आवि शंकरनगरकोटीया छनौटमा परेका छन् ।
छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन् ।
कार्यक्रम अन्तर्गत कृष्ण मावि कोहलपुर, जन ज्ञानज्योती मावि कोहलपुर, जनजागरण आवि बैजनाथ, जनसहयोगी आवि बैजनाथ, गणेश आवि ढकेरी, शिवशक्ती मावि पेरानी, जनशक्ती मावि बैजापुर र नेपाल राष्ट्रिय आवि नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका छन् । छनौट भएका विद्यालयहरुमा (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट विनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

.

.

.
मन्त्री अथककै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढी पक्की कक्षा कोठा निर्माण भई सकेका छन् । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियानअन्तर्गत मन्त्री अथकको पहलमा चालू आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो ।