डोल्पामा खाद्यान्न बालीको प्रदर्शनी
Sunday, September 18th, 2022, 3:07 pm
Kalpristha
डोल्पाको सदरमुकाम दुनै बजारमा जिल्लास्तरीय कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । कृषि विकास कार्यालय डोल्पाको आयोजनामा असोज १ गते सुरु भएको दुई दिने कृषि मेला प्रदर्शनी सम्पन्न भएको हो ।
कृषकहरुलाई उत्पादनतर्फ आकर्षण गरी प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा कृषकहरुले उत्पादन गरेका विभिन्न रैथाने बालीहरु प्रर्दशन गरिएको थिए ।
कृषि प्रर्दशनी मेलामा खाधान्न बाली, फलफूल बाली, तरकारी पाली, दलहन तथा नगदे बाली, आलु बाली, मसला बाली, मौरीपालन सहितका सात प्रकारका बाली समूहहरुको स्टल राखिएको थियो । प्रर्दशनी मेलामा जिल्लाभरका नब्बे भन्दा बढी कृर्षकले विभिन्न समूहमा आफ्नो उत्पादित कृषि वस्तुहरुको प्रर्दशन गरेको कृषि विकास कार्यालय डोल्पाका प्राविधिक सहायक गोरख बहादुर बुढाले बताए ।
कृषि प्रदर्शनी मेलाबाट आफूले उत्पादन गरेका रैथाने कृषि जन्य वस्तुहरुको बजार व्यवस्थापनमा सहयोग पुग्ने प्रर्दशनी मेलामा सहभागी त्रिपुरासुन्दरी नगरपालिका ३ का कृषक रञ्जीत बोहोराले बताए ।
स्याउँ ओखरलगायत विभिन्न तरकारी बालीको उत्पादन राम्रो भएता पनि समयमै बजार नपाउँदा बर्षेनि कुहिएर खेर जाने गरेकाले आगामी दिनहरुमा डोल्पाली उत्पादनले कृषक उत्पादनलाई बजारीकरण गर्न यस्ता प्रदर्शनी मेलाले सहयोग पुर्याउनु पर्ने बोहोराले बताए ।
जिल्लामा प्रत्येक वर्ष कृषिमेला प्रदर्शनीको आयोजना गरिँदै आएको भए पनि दुनै बजारमा तरकारी मण्डीको व्यवस्था नहँुदा तरकारीको डोको बोकेर करिब ३ घण्टाको बाटोमा हिडेर दैलोदैलोमा तरकारी किन्नुहोस् भन्दै हिड्नु पर्ने बाध्यता रहेको ठुलीभेरी नगरपालिका ९ की कृषक बधुमाया कुवरले गुनासो गरे । सदरमुकाम आसपासका कृषकको लागि जुफाल, दुनै र त्रिपुराकोट बजारमा उत्पादित वस्तुहरु सहजै लैजान र एकै ठाउँबाट बिक्रीवितरणको व्यवस्था मिलाउनु पर्नेमा सम्बन्धीत निकायको ध्यान जानु पर्नेमा कृषक कुवरले जोड दिए ।

.
कृषि प्रर्दशनी मेलामा एकअर्का कृषक बीच प्रतिस्पर्धा भन्दा पनि कृषक–कृषक बिच आत्मीयता आदानप्रदान हुनुको साथै कृषि उत्पादनलाई कसरी व्यवस्थीत बनाउन सकिन्छ भन्ने विषयमा थप हौसला प्रदान होस भन्ने उद्देश्य रहको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पामा स्याउँ, दाँते ओखर, सिमिलगायत खाध्यान्न बालीको राम्रो उत्पादन हुने गर्दछ । हवाई तथा सडक मार्गबाट ढुवानी गर्न समस्या भएका कारण कृषकको उत्पादन बजारको पहँचसम्म नपुग्दा खेतबारीमै सड्ने गल्ने गर्दछ ।
कृषि मेला प्रर्दशनीमा सहभागी कृषकहरुमध्ये फलफूल बाली समूह अन्तर्गत ठुलीभेरी नगरपालिका – ९ का कर्णवीर डाँगी प्रथम(स्याउँ), ठुलीभेरी – ९ का कपिल डाँगी द्वितीय ( स्याउँ), ठुलीभेरी – ११ का अजय कार्की तृतीय (ओखर), ठुलीभेरी – ३ का अमन गुरुङ(कागती) र ठुलीभेरी – १ का दशरथ रोकाया(किबि) ले शान्त्वना परस्कार प्राप्त गरे ।
त्यस्तै तरकारी वाली समूहमा ठुलीभेरी– ९ का गोमा रोयाका(काउली) प्रथम भइन् । खाधान्न वाली तर्फ त्रिपुरासुन्दरी – २ का सरीता धराला(मकै), आलु बाली समूहतर्फ ठुलीभेरी – १० का हिरालाल कार्की, दलहन तथा नगदे बाली समूहतर्फ ठुलीभेरी – ८ का पुष्पा डाँगी(सिमि) र विविध वाली समुहमा जगदुल्ला – २ का मन्दीर थापा(चुकजुस) प्रथम भए ।
पहिलो, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने कृषकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी बेदनीधि अधिकारीलगायतले क्रमश नगद २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र एक हजारका दरले नगदसहित प्रमाणपत्र वितरण गरे ।