डोल्पामा ९ जनाले गरे आत्महत्या
Monday, September 19th, 2022, 6:47 pm
Kalpristha
आत्महत्या रोकथाम नियन्त्रण र न्युनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम डोल्पामा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाको आयोजनामा सदरमुकाम दुनैमा गरिएको अभिमुखिकरण कार्यक्रममा विभिन्न समयमा गरेर ९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बताए ।
जिल्लामा आत्महत्याको अवस्था, आत्महत्या गर्नुको कारण र यसको रोकथाम तथा न्यूनिकरण के कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालालाई अभिमुखिकरण गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए । व्यक्तिगत चाहाना पूरा हुन नसक्दा पारिवारीक अवस्था, बढ्दो बेरोजगार, गरिबी, जनचेतनाको कमी र आधुनिक प्रविधिको गलत प्रयोगले आत्महत्याका घटनाहरु हुने गरेको अध्ययनले देखाएको उनले जनाए ।
आर्थिक वर्ष ०७१।७२ देखि हालसम्म जिल्लामा ६ पुरुष ३ महिला गरेर ९ जनाले आत्महत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाका ८ स्थानीय तहमध्य त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाबाट आत्महत्याको घटनाहरु आउने गरेको बताइएको छ ।
माथिल्लो डोल्पाका छार्काताङसोङ, डोल्पोबुद्द, शे–फोक्सुण्डो गाउँपालिकामा आत्महत्याका घटनाहरु हुने गरे पनि पोस्टमाटम गर्नु पर्ने झनझट र प्रहरीको डरले बाहिर आउन नसकेको हुन सक्ने भएकाले आत्महत्या सम्बन्धी समस्यालाई न्यूनकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्नुको साथै अध्ययन अनुसन्धान आवश्यक रहेको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्याल बताए ।
कार्यक्रममा विद्यालयका बालबालिका, शिक्षक–शिक्षिका, प्रहरी जवान, संचारकर्मी, नागरिक, समाज राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।