राष्ट्रपति शैक्षिक सुधारका लागि डोल्पाका ३१ विद्यालय छनौट
Tuesday, September 20th, 2022, 7:35 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ४ असोज
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि डोल्पाका ३१ वटा विद्यालय छनौटमा परेका छन् । शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयमा भौतिक संरचना र कम्प्युटर ल्याब स्थापना हुने छन् ।
छनौटमा परेका ३१ वटा विद्यालय मध्य १२ ओटामा कम्प्युटर ल्याब र १९ ओटा विद्यालयमा भवन निर्माण गरिने शिक्षा विकास तथा समन्वयका दलबहादुर बस्नेतले जानकारी दिए ।
डोल्पामा छनौटमा परेका विद्यालयहरु मध्ये ४ कोठे भवन निर्माणको लागि छनौटमा परेका ४ ओटा विद्यालयलाई ५५ लाख कम्प्युटर ल्याब निर्माणको लागि छनौटमा परेका १२ ओटा विद्यालयलाई प्रति विद्यालय ६ लाख ५० हजार वजेट विनियोजन भएको छ ।
त्यस्तै गरी २ कोठे भवन निर्माणको छनौटमा परेका १५ विद्यालयलाई २७ लाख ५० हजारका दरले सरकारले वजेट विनियोजन गरेको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयले जनाएको छ ।
छनौट हुने विद्यालयहरुमा सबैभन्दा बढी ठूलिभेरी नगरपालिका क्षेत्रका विद्यालय छन् । जिल्ला सदरमुकाम दुनै रहेको ठुलिभेरी नगरपालिका भित्रका ९ ओटा विद्यालय छनोटमा परेका हुन् ।
त्यस्तै गरी त्रिपुरासुन्दरी नगरपालिका भित्रका ४ शे फोक्सुण्डो गाउँपालिका क्षेत्रका ४ जगदुल्ला गाउँपालिका भित्रका ४ मुड्केचुला गाउँपालिका भित्रका ३ डोल्पोबुद्द गाउँपालिका भित्रका २छार्काताङसोङ गाउँपालिका भित्रका २ ओटा र काइके गाउँपालिका भित्रका २ ओटा विद्यालय छनौटमा परेका हुन् ।
८ वटा स्थानीय तह रहेको हिमाली जिल्ला डोल्पाका सबै स्थानीय तहमा रहेका विद्यालय यस पालि राष्ट्रपति शैक्षिक सुधारका लागि छनौटमा परेका छन् ।
विद्यालयको भौतिक संरचना निर्माण तथा विस्तार र प्रविधिमैत्री विद्यालय बनाउनको लागि सहयोग हुने कार्यक्रमको लागि स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्तावना पेस गरिए अनुरुप विद्यालय छनौट तथा वजेट विनियोजन भई आएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर बस्नेतले बताउनु भयो ।