न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट
Wednesday, September 21st, 2022, 5:38 pm
Kalpristha
आर्थिक वर्ष २०७९/०८० मा बर्दिया अस्पताल उत्कृष्ट भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा बर्दिया सेकेण्डरी अस्पताललाई देशभरीमै उत्कृष्ट अस्पताल रहेको जनाएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद गिरी, निर्देशनालयकै वरिष्ठ जनप्रशासक रोशनलाल चौधरी, मुख्य स्रोत व्यक्ति भेरी अस्पताल नेपालगन्जका नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, कपिलबस्तु अस्पताका वरिष्ठ मेसु डा किशोर बञ्जाडे, स्वास्थ्य निर्देशनालयका फोकल पर्सन कौशल भण्डारी, जनस्वास्थ्य अधिकृत विनिता काफ्ले र भेरी अस्पतालका तत्कालीन मेसु डा वीरेन्द्र बहादुर चन्द नेतृत्वको विज्ञ टोलीले अस्पतालको अनुगमन गरेको थियो ।
‘ए’ लेभलको यो अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेका अनुसार अस्पतालले प्रवाह गर्ने सेवा, अस्पतालको सुशासन, पारदर्शितालगायतलाई केन्द्रविन्दुमा राखेर विज्ञ टोलीले अनुगमनसहित अंक दिने गरेको छ ।
जसमा ९४ अंक प्राप्त गर्दै नुवाकोटको त्रिशूली हस्पिटल दोस्रो र धादिङ हस्पिटल ९३ अंकका साथ तेस्रो भएको छ ।
लुम्बिनी प्रदेशका ‘ए’ लेभलका १२ र बी लेभलका एउटागरी १३ वटा सेकेण्डरी अस्पताल छन् । लुम्बिनी प्रदेशमा भने पछिल्ला वर्षहरुमा न्यूनतम कार्यसम्पादन मूल्यांकनमा बर्दिया अस्पताल उत्कृष्ट हुँदै आएको छ ।