सिट बाँडफाँट अन्तिम चरणमा : सह–महामन्त्री राठौंर
Wednesday, September 21st, 2022, 5:45 pm
Kalpristha
नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले गठबन्धन दलबीच सिटको बाँडफाँट अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार नेपालगन्ज विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै राठौंरले सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेको बताए ।
उक्त कार्यक्रममा राठौंरले भने, ‘बर्दियालगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तै केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होइन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ ।’
राठौरले बर्दिया २ मा माओवादीले नछाडे आफू बाँकेको ३ नम्बर क्षेत्रमा चुनाव लड्ने बताए । ‘मैले २० वर्षदेखि बर्दिया क्षेत्र नम्बर २ बाट राजनीति गरिरहेको अवस्था हो, मेरो ६० वर्षदेखि नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो,’ उनले भने, ‘मैले बर्दिया क्षेत्र नम्बर २ छाड्नुपर्यो भने बाँके क्षेत्र नम्बर ३ मा आउने सोच बनाइरहेको परिस्थिति हो, तर अहिलेसम्म टुंगो गरेको परिस्थिति होइन ।’
अर्को प्रसंगमा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंम्वैधानिक कदम भएको बताए । ‘राष्ट्रपतिको यो असंम्बैधानिक कदम हो, यसमा चाही नेपाली कांग्रेसको सहमती छैन,’ उनले भने । राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भए पनि दोस्रोपटक पनि फिर्ता गर्नु असंम्वैधानिक भएको नेता राठौंरले जिकिर गरे ।
नागरिकता नपाएर लाखौं जनताले दु:ख पाइरहेको अवस्थामा, छिटोभन्दा छिटो नागरिकता दिनुपर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएको उनले बताए । ‘हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत छैन,’ राठौंरले भने ।