परिवारसहित ‘हिजो आजका कुरा’ हेर्न पन्तले गरे निम्तो
Friday, September 23rd, 2022, 6:23 pm
Kalpristha
सानो पर्दा अर्थात टिभिमा सबैभन्दा धेरै रुचाइएको नाटक सृंखलामा पर्दछ, ‘हिजो आजका कुरा’ । कलाकार एवम् निर्माता सन्तोष पन्तले ११ वर्ष अवधिमा निरन्तर प्रसारणको क्रममा ६ सय बढी सृंखला प्रस्तुत गरेका थिए । र अहिले पनि ‘हिजो आजका कुरा’ नामबाट कोही पनि अपरिचत भने छैनन् ।
सोही टिभि नाटकको नामबाट यही असोज २८ गते चलचित्र प्रदर्शन हुँदैछ । जसको प्रचारप्रसारमा शुक्रबार कलाकार एवम् निर्माणको टिम नेपालगन्ज आइपुगेको छ । र पन्तले परिवारसहित ‘हिजो आजका कुरा’ हेर्न बाँकेवासीलाई निम्तो दिएर गएका छन् ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा टिम अहिले प्रचारप्रसारको क्रममा देशका मुख्य शहरमा पुगिरहेको छ । जसअन्तर्गत काठमाडौंभन्दा बाहिरको पहिलो टुर नै उनीहरुले नेपालगन्जलाई तोकेका हुन् ।
शुक्रबार नेपालगन्जमा चलचित्रको टिमले पत्रकारसँग भेटघाट गरेको छ । नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीमा पुगेर हल भिजिटसमेत टिमले गर्यो ।
पत्रकारसँगको कुराकानीमा चलचित्रका निर्माता तथा कलाकार सन्तोष पन्तले चलचित्र ‘हिजो आजका कुरा’ कहिल्यै पुरानो नहुने चलचित्र भएको बताए ।
‘सदाबहार कथालाई नै चलचित्रमा उठान गरिएको छ’, उनले भने, ‘सबैको जीवनमा मिल्ने कथा दर्शकले चलचित्रमा देख्न पाउने छन् । एकपटक सबैले हेर्नुपर्ने चलचित्र बनेको छ ।’
चलचित्रकि नायिका ऋचा शर्मा, निर्देशक साकार पन्त, कलाकार रमा थपलिया, दिव्यदेव पन्तलगायतका कलाकारहरु पनि नेपालगन्ज आएका थिए । सबैले चलचित्र राम्रो बनेको धारणा व्यक्त गरे ।
नेपालन्जको भाटभटेनीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरु देख्न पाउँदा ग्राहकहरु पनि खुशी देखिए । किनमेल गर्न आएका ग्राहकहरुले कलाकारसँग सेल्फी खिच्न व्यस्त देखिन्थे ।
अधिकांश ग्राहकले पहिला टेलिभिजनमा आउने ‘हिजो आजका कुरा’ सिरियलका कलाकारलाई प्रत्यक्ष देख्न पाएकोमा खुशी लागेको बताएका थिए ।
मानादेवी न्यौपानेको लेखन रहेको चलचित्रमा ऋचा शर्मा, रमा थपलिया, देव्यदेव पन्त, रिमा विश्वकर्मा, स्वर्गीय जयनन्द लामालगायतको समेत चलचित्रमा अभिनय रहेको छ।
चलचित्रका सार्वजनिक गीतहरुले दर्शककोअन अत्याधिक जितेका छन् । गीतहरुले पनि धेरै लोकप्रियता बटुलेको छ ।