ब्याजदरमा पुनरावलोकन हुन्छः अर्थमन्त्री शर्मा
Saturday, September 24th, 2022, 5:45 pm
Kalpristha
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले राष्ट्र बैंकले बनाएको ब्याजदर सम्बन्धी नीतिमा परिवर्तन हुने बताएका छन् । शनिबार बाँकेका उद्योग, व्यवसायीसँग कुराकानी गर्दै मन्त्री शर्माले ब्याजदरमा पुनरावलोकन गर्ने बारेमा छलफल भैरहेको बताए ।
उनले भने, ‘मलाई विभिन्न जिल्लाका व्यवसायीहरुले यस बारेमा गुनासो पोख्नु भएको छ । धनगढीका साथीहरुले पनि ब्याजदर बढेर व्यवसायी मारमा परे भनेका थिए । मैले तपाईहरुको समस्या बुझेको छु । यस विषयमा निकास दिन आइतबार काठमाडौंमा बैठक डाकेको छु । पक्कै केही सकारात्मक कुरा हुनेछ ।’
शनिबार बाँकेका व्यवसायीहरुले चर्को ब्याजदरको विरोध गर्दै त्यसलाई कम गर्न माग गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई शनिबार ज्ञापनपत्र बुझाएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा शनिबार अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूना, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, प्रवक्ता टंक धामी, बरिष्ठ सदस्य वसन्त लामिछाने, सदस्यद्वय टंकप्रसाद शर्मा र श्याम सुन्दर अधिकारीले अर्थमन्त्री प्रभाकरसँग व्यवसायीका समस्याका बारेमा कुरा राखेका थिए ।