नेपालगन्ज– ११ लाई केटिएम सिटीको प्रायोजन
Wednesday, October 12th, 2022, 9:33 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, २६ असोज
एन्फा ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता खेल्न काठमाडौं जान लागेको नेपालगन्ज–११ स्र्पोटिङ क्लबलाई केटिएम सिटीले प्रायोजन गरेको छ ।
नेपालगन्ज–११ ले काठमाडौंमा भैरहेको एन्फा ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता खेल्दैछ । त्यसका लागि बिहिबार नेपालगन्ज–११ टिम काठमाडौं जार्दैछ ।
बुधबार नेपालगन्जमा भएको विदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, केटिएम सिटीको नेपालगन्ज शाखाका सुपरभाईजर भुपेश पाण्डे, नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाले केटिएम सिटी अंकित क्लबको जर्सी सार्वजनिक गरेका थिए ।
नेपालगन्ज–११ टिमलाई शुभकामना दिन पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले खेलकुद क्षेत्रले राष्ट्रको पहिचानलाई बढाउने बताए । प्रतियोगितामा खेलाडीहरुलाई सफलताको शुभकामना दिदैं मन्त्री राईले खेल र खेलाडीको विकासका लागि आफु सधै सकारात्मक रहेको बताए ।
उनले भने,‘नेपालगन्जलाई चिनाउने लक्ष्य सहित काठमाडौं जान लाग्नु भएका सम्पुर्ण खेलाडी र अफिसियललाई प्रतियोगिता जितेर आउन शुभकामना दिन चाहन्छु । यो नेपालगन्जलाई चिनाउने पनि अवसर हो । भोलीका दिनमा मेरो क्षेत्रबाट हुने सम्पुर्ण सहयोग म गर्नेछ ।’
अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य शाहीले लिग छनोट फुटबल खेल्ने हिम्मत गरेकोमा नेपालगन्ज– ११ लाई बधाई तथा शुभकामना दिए । उनले भने, ‘ एन्फा ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता खेल्न त्यति सहज छैन । आर्थिक रुपमा महँगो पर्छ क्लबलाई । तर नेपालगन्ज–११ छनोट खेल्ने साहस गरेको छ । त्यसका लागि क्लबको सम्पुर्ण टिम र खेलाडीलाई धन्यवाद दिन चाहन्छु ।’
विदाई कार्यक्रममा शाहीले खेलाडीलाई अनुशासित भएर राम्रो नजिता निकाल्नेमा ध्यान दिन सुझाव दिएका थिए । केटिएम सिटीका सुपरभाईजर पाण्डेले खेलाडीको हौसला बढाउनको लागि स्थानीय क्लबलाई प्रायोजन गरेको बताए । उनले भने,‘केटिएम सिटी नेपालको ब्रान्ड हो । यसले छोटो समयमा नेपालीहरुको मन जित्न सफल भएको छ । अझ विशेष गरी हामीले खेलकुदसँग सम्बन्धित पोसाकहरु धेरै उत्पादन गर्ने गरेको छौं । आगामी दिनमा पनि खेलाडीको हौसला बढाउन हामी सहकार्य गरेर अगाडी बढने छौं ।’
यसैगरी कार्यक्रममा बुद्ध युवा क्लबका अध्यक्ष तेजविक्रम शाह, रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्री, पुर्व राष्ट्रिय खेलाडी भीमजंग शाह, प्रशिक्षक रबिन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
नेपालगन्ज–११ले पहिलो छनोट खेल कात्तिक १ गते खेल्दैछ । छनोट प्रतियोगिता खेल्न जान लागेको टिमलाई केटिएम सिटीले १ वर्षको लागि करिब तीन लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष थापाले बताए । यसैगरी क्लबलाई मन्त्री इस्तियाक राई, नेपालगन्ज उप–महानगरपालिका, खजुरा गाउँपालिका, रेसिङ सहारा क्लब कोहलपुर लगायतले सहयोग गरेको छ ।
काठमाडौं जाने टिमको व्यवस्थापकका रुपमा अध्यक्ष थापा, प्रमुख प्रशिक्षकमा सानु तामाङ, सहायक प्रशिक्षकमा भद्रसिह थापा, मेडिकल पर्सनमा सिम्रन गुरुङ रहेका छन् ।
प्रतियोगिता खेल्ने खेलाडीहरुमा प्रबिन सुनार (टिम कप्तान), निराजन जंग शाही(उप– कप्तान), प्रेम बहादुर सुनार, मनिस थारु, लाल बहादुर थाडामगर, निराज रावत, बिनोद केबड, अनिल ब्याम्बो, हर्स बहादुर आले, पृतम बहादुर आले(गोलकिपर), निर्जल शाही(गोलकिपर), सुबास बुुुुढाथोकी, सुदिप गुरुङ, लक्ष्मण राना मगर, राहुल गुरुङ, अमृत कुवँर, विकास परियार, मनोज ओली र निसान डाँगी रहेका छन् ।
२०७४ सालमा स्थापना भएको नेपालगन्ज–११ ले २०७५ सालमा ब्राहवन दोस्रो आमन्त्रित गौरीगंगा कपको उपाधि जितेको थियो । यसैगरी क्लबले २०७६ सालमा गोदावरी राजधानी कपमा उपविजेता बनेको थियो ।