बाढी प्रभावितलाई रेडक्रसको राहत वितरण
Wednesday, October 12th, 2022, 9:45 pm
Kalpristha
प्रहलाद विश्वकर्मा
नेपालगन्ज, २६ असोज
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा बाढी र डुबान विपद्बाट प्रभावित समुदायलाई राहत वितरण कार्य सुरु गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके र विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालित मौसम पूर्वानुमानमा आधारित अग्रिमकार्य सहायता कार्यक्रमद्वारा डुडुवा गाउँपालिको वडा नम्बर १ र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ का बाढी तथा डुवान प्रभावित परिवारलाई नगद प्रतिपरिवार १५ हजारका दरले वितरण सुरु गरिएको छ ।
यसैगरी नेरेसो बाँके र युनिसेफ नेपालको सहयोगमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० का बाढी तथा डुबानबाट प्रभावित ५० परिवारलाई त्रिपाल, हाईजीन किट र झुल वितरण सुरु गरिएको कुरा नेरेसो मनिकापुर उपशाखाका सभापति नवराज सापकोटाले जानकारी दिए ।
नेरेसो सीतापुर उपशाखाका सचिव यमनारायण महतोका अनुसार खजुरा गाउँपालिका वडा नम्बर ६ का बाढी तथा डुबान प्रभावित २५ परिवारलाई प्रति परिवार १ थान त्रिपाल, हाईजीन किट १ सेट र झुल २ थानका दरले वितरण गरिएको बताइएको छ ।
यसैगरी नेरेसो कुसुम उपशाखाका सभापति भिमाजुन देवकोटाले दिनु भएको जानकारी अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का २८ परिवारलाई त्रिपाल र वडा कार्यालयले खाद्य सामग्री वितरण गरेको छ ।
नगद वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, डुडुवा गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष पटेश्वरी कुर्मी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० को गैरखाद्य राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कौशलकुमार धोवी, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, उपनिर्देशक दोलखबहादुर डाँगी र युनिसेफ नेपालका नरेश निदाल लगायत, वडा प्रतिनिधि, नेरेसो उपशाखाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।