बाँकेमा १० जनाले लिए उम्मेदवारी फिर्ता
Wednesday, October 12th, 2022, 9:59 pm
Kalpristha
मनोनयन फिर्ता लिनेमा प्रतिनिधि सभामा उम्मेदवारी दिएका रबिन्द्रमान श्रेष्ठ र अन्य ९ जना प्रदेशसभाका उम्मेदवार थिए । रबिन्द्रमान र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका जाकिर खाँ बाहेक अन्य सबैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
सौरभ राना
नेपालगन्ज, २६ असोज
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि बाँकेबाट उम्मेदवारी दिएका १० जनाले मनोनयन फिर्ता लिएका छन् । मनोनयन फिर्ता लिनेमा नागरिक उन्मुक्ति पार्टीबाट दुई जना अन्य ८ जना स्वतन्त्र रुपमा उम्मेदवारी दिएका व्यक्तिहरु रहेका छन् ।
मनोनयन फिर्ता लिनेमा प्रतिनिधि सभामा उम्मेदवारी दिएका रबिन्द्रमान श्रेष्ठ र अन्य ९ जना प्रदेशसभाका उम्मेदवार थिए । रबिन्द्रमान र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका जाकिर खाँ बाहेक अन्य सबैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
निर्वाचन कार्यायल बाँकेका अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रबिन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कांग्रेसका किशोर सिंह राठौरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ ।
यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर १ (क)बाट उग्रसेन यादव, विक्रम यादव, निर्वाचन क्षेत्र नम्बर २ (क)बाट राजेन्द्र कँडेल, (ख)बाट विनय चन्द्र गुप्ता, क्षेत्र नम्बर ३ (क)बाट दिपक कुमार गौरी मगर, राज कुमार ढकाल, क्षेत्र नम्बर ३(क)बाट इन्द्र बहादुर थापा मगर, (ख)बाट जाकिर खाँ, चन्त बहादुर खत्रीले उम्मेवारी फिर्ता लिएका छन् ।
यसैगरी निर्वाचन आयोगले बुधबार नै उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरेको निर्वाचन कार्यालय बाँकेका सुचना अधिकारी युवराज पन्तले बताए । मंसिर ४ गते हुने निर्वाचनमा १० जना उम्मेदवारले मनोनयन फिर्ता लिएपछि ८९ जना चुनावी मैदानमा भिड्ने भएका छन् । त्यसमा १८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
बाँकेको तिन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ ३६ जना र प्रदेशसभा सदस्यका लागि ५३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिनिधिसभाको सदस्यका लागि क्षेत्र नम्बर १ बाट ११ जना, २ बाट १६ जना र ३ नम्बरबाट ९ जना उम्मेदवार रहेका छन् ।
प्रदेश सभा सदस्य तर्फ क्षेत्र नम्बर १ (क)बाट ८ जना, (ख)बाट ७ जना, निर्वाचन क्षेत्र नम्बर २(क)र (ख)बाट समान ११ जना, क्षेत्र नम्बर ३ (क)बाट ७ जना र (ख)बाट ९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
८९ जना उम्मेवार मध्ये प्रतिनिधिसभा तर्फ ६ र प्रदेश सभा तर्फ १२ जना स्वतन्त्र उम्मेवार छन् ।