‘मुगाली जनतालाई सहयोगको खाँचो छ’
Thursday, October 13th, 2022, 1:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ असोज
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा उम्मेदवार राज बहादुर कार्की(राजु)ले प्राकृतिक विपदले मुगुले पीडादायी अवस्थाको सामाना गरिरहेकाले तत्काल जनतालाई राहत दिन सरकारसँग माग गरेका छन् ।
यसै साता परेको अविरल वर्षाका कारण नेपालको पश्चिम क्षेत्रका तराई, पहाड र हिमाली जिल्लामा पहिरोले कराडौं क्षति गरेको छ ।
पहिरोका कारण मुगुका करिब ९ सय ५० भन्दा बढी घरपरिवार समस्या परेको कार्कीले बताए ।
पर्यटन व्यवसायी समेत रहेका कार्कीले मुगाली जनतालाई तत्काल राहत कार्यक्रम उपलब्ध गराउन कर्णाली प्रदेश सरकार र नेपाल सरकारसँग माग गरेका छन् ।
बिहिबार पत्रकार सम्मेलन गर्दै कार्कीले निर्वाचन भन्दा पहिला जनतालाई राहतका कार्यक्रम आवश्यक परेकाले सबैसँग सहयोग गर्न आग्रह गरेका छन् । पहिरोका कारण मुगुमा ११ जनाले ज्यान गुमाईसकेका छन् ।
मुगुका थुप्रै स्थानमा रहेका काठे पुल पुर्ण रुपमा क्षति पुगेको छ भने पक्की पुल, सडक, खानेपानी,कृषि उत्पादन पहिरोबाट प्रभावित बनेका छन् ।
२०२८ सालपछि मुगुले ठुलो संकटको सामना गरिरहेको कार्कीले बताए । संकटको घडीमा पार्टीका सम्पुर्ण संगठन, स्थानीय सामाजिक संघ–संस्था, रेडक्रससँग सहकार्य गरेर मुगुका जनतालाई सहयोग गर्ने उनले बताए । खराब मौसमका कारण आफु उम्मेदवारी दर्ता गर्न समेत गृह जिल्ला जान नसकेको कार्कीले बताए ।
निर्वाचन आचारसंहिताले राहतका गतिविधिलाई रोकेपनि मानवीय संवेदनालाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकार र नेपाल सरकारले तत्काल सहयोग गर्नु पर्ने अवस्था रहेको कार्कीले धारणा राखे ।
उनले भने, ‘मुगाली जनता अहिले समस्यामा छन् । खानेपानीको समस्या झन बढेको छ । किसानले लगाएका बालीहरु नष्ट भएका छन् । सडक अवरुद्ध छ । यो संकटको बेला सबैले सहयोग गर्नु अवस्था छ । चुनाव भन्दा अगाडी जनतालाई जति सक्दो छिटो राहतको कार्यक्रम ल्याउन आवश्यक छ ।’