धान राप्तीको बाढीले पुर्यो, के खाने ?
Friday, October 14th, 2022, 6:18 pm
Kalpristha
बाढी पीडित भन्छन्,
लिलाधर वली
दाङ, २८ असोज
देउखुरीको राजपुर गाउँपालिका–४ फोहोरा खल्वा टोल निवासी रामप्रताप यादव दशै मनाएर खेतमा पाकेको धान काट्ने सोचमा थिए । तर असोज १८ गतेदेखि परेको अविरल बर्षादका कारण २१ गते राप्ती नदीमा आएको बाढी घरभित्र पस्नका साथै २२ कट्टा खेतमा रोपेको धान पागोले पुरिदिएपछि अहिले रामप्रताप घरभित्र पसेको पानी र हिलो हटाउँदैछन् ।
बाढीले घरमा भएको अन्नपात र लत्ताकपडासँगै खेतमा रोपेको धान समेत पुरिदिएपछि रामप्रतापलाई आफ्नो ८ जनाको परिवारको के गरी जीवन पाल्ने भन्ने चिन्ता थपिएको बताए । ‘हामी खेती र भैसी पालेर गरी खाने परिवार हौ । राप्ती नदीमा आएको बाढीले घरमा भएको अन्नपातसँगै खेतमा पाकेको धान समेत पुरिदिएको छ’,रामप्रतापले भने,‘गरिखाने मान्छेलाई नदीले नि ठगेको छ । अव के गरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ?’ आफ्नो घर बस्न लायक नभएपछि उनी दाईको घरमा बस्दै आएका छन् ।

…..
दाईको घरमा बस्दै आएको रमप्रतापको परिवारलाई तत्कालका लागि राहत स्वरुप वडा कार्यालयले २५ केजी चामलको बोरासँगै दुई केजी दाल, २/२ पोका तेल र नूनलगायतका सामग्री सहयोग दिएको छ । त्यही राहत स्वरुप प्राप्त गरेको चामल, दाल,नून र तेलले जीविको चलाउँदै आएका यादव यस्तो विपद कसैलाई नआसो भन्ने गर्दछन् । ‘म अहिले ३९ बर्षको भए । राप्तीले यसरी यहाँसम्म आएर क्षेती गरेको अहिलेसम्म थाहा पाएको थिएन’,उनले भने,‘तर यो पटक खल्वा टोलसम्मै राप्ती नदी आएर दु:ख दिएर गयो ।’ उनका अनुसार बाढीबाट बचेको आफ्नो अव सम्पतीको नाममा सात वटा साना ठुला भैसीहरु मात्रै छन् ।
उनीसँगै खल्वा टोलकै कल्लु यादवको अवस्था पनि उस्तै छ । बाढीले घरमा भएका लत्ताकपडासँगै ३२ कट्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरि राप्ती नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । घर बस्न लायक नभएपछि उनीपनि दश जना परिवारको साथ आफन्तको घरमा बस्दै आएका छन् । घरमा भएका लत्ता कपडासँगै पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको बताए । ‘खेती गरेर परिवार पाल्नेदेखि बालबालिकाहरुलाई पढाउने गरेका थियौ’,स्थानीय कल्लु यादवले भने,‘घर कोठा र रोपेको धान राप्तीको बालुवाले पुरिएको छ । घर खेत हेर्दा मन दु:ख् ्छ ।’ रामप्रताप र कल्लु उदाहरणका पात्रहरु मात्रै हुन, असोजको १८ गतेदेखि करिव एक सातासम्म परेको अविरल बर्षादसँगै राप्तीमा आएको बाढी कारण फोहोरा खल्वा टोलका मात्रै ३२ घर परिवार पीडित भएका छन् ।
बाढी तथा पहिरोबाट जिल्लामा ३ हजार बढी नागरिकहरुको घरमा क्षेती पुर्याउनका साथै विगौविगाह जमिनमा रोपेको धान बाली नष्ट गरेको जिल्ला आपतकालिन कार्यसञ्चलन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३ हजार बढी घरहरु मध्य २ सय ३ घर परिवार घर विहिन भएका छन् ।
आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार लमही नगरपालिकामा डुवानमा परेका १ हजार ४ सय ६१ मध्य ४३ घर पूर्ण रुपमा क्षेती भएका छन् । त्यसैगरी राजपुर गाउँपालिकामा डुवानमा परेका २ सय २१ घर मध्य १५, राप्ती गाउँपालिकामा ६ सय १० घर मध्य ६५ घर र गढवा गाउँपालिकामा ६ सय ६० घरहरु मध्य ८० घरहरु पूर्ण रुपमा क्षेती भएको केन्द्रले जनाएको छ ।
देउखुरी उपत्यकामा बाढी पस्दा ३ हजार ५ सय ३७ घर डुवानमा परेका थिए । गढवाका गाउँपालिका–५ को बोधिपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा–७ कान्छीगाउँलगायतका बस्ती डुवानमा परेका थिए ।
राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनिया,सँगै राप्ती गाउँपालिकाको फोहोरालगायतका गाउँहरुमा बाढी पसेको थियो । लमही बाढीबाट गढवा गाउँपालिका र लमही नगरपालिका धेरै बस्तीहरु डुबानमा परेका थिए । घरहरु डुवानमा परेर घरवार विहिन भएका पीडित परिवारहरु आफन्तको घरमा आश्रय लिएका छन् । बर्षादका जिल्लामा नौ जनाको मृत्यु समेत भएको छ ।