राजनिति जनताको लागि गर्ने, व्यक्तिगत स्वार्थको लागि होइनः राठौंर
Saturday, October 15th, 2022, 8:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, २९ असोज
नेपाली कांग्रेसका सह–महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोर सिंह राठौंरले देश र जनताको लागि आफुले इमानदार भएर राजनिति गरेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन बाँकेले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राठौंरले आफुलाई बदनाम गराउने उद्देश्यले आयतित नेताको रुपमा प्रचार गरिएको बताए ।
उनले भने,‘मेरो परिवार कहिले देखी बाँकेमा छ । मेरो परिवार सल्यानबाट आएर कति भयो बाँके बस्न लागेको हो । अनावश्यक रुपमा मलाई कमजोर बनाउने उद्देश्यले यस्ता गलत प्रचार गरिएको छ । तर आम बाँके क्षेत्र नम्बर ३ का जनताले मेरो इतिहास, पार्टीमा गरेको योगदान र स्वभावका बारेमा थाहा पाउनु भएको छ ।’
आफुले जिम्मेवार पदमा बसेर काम नगर्ने नेतालाई मात्र गाली गर्ने बताए । उनले भने,‘मेरो स्वभावै यही हो । काम नगर्ने, चाकँडी गर्ने नेतालाई गाली गर्छ । पदमा बसेर जनताको काम गर्न नसक्ने नेतालाई भोलीका दिनमा पनि गाली गर्छु । हामीले राजनिति गर्ने भनेको जनताको सेवा गर्नलाई हो । देशलाई समृद्ध बनाउनको लागि हो । व्यक्तिगत स्वार्थका लागि राजनिति गर्नु पर्दैन । व्यवसाय गरे हुन्छ ।’
राठौर आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनमा संचार माध्यमले सहि सुचना सम्पे्रषण गरेर जनतालाई योग्य उम्मेदवार छनोट गर्न सघाउनु पर्ने सह–महामन्त्री राठोरले बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओली लगायतले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन युनियन सम्बद्ध पत्रकारले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने धारणा राखेका थिए ।