नेपालगन्जमा प्रेमगीत–३ को कमाई ५० लाख भन्दा बढी
Sunday, October 16th, 2022, 2:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असोज
पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र प्रेमगीत–३ ले राम्रो व्यापार गरिरहेको छ । हिन्दी भाषामा रेकडिङ गरिएको पहिलो नेपाली फिल्म प्रेमगीत–३ ले नेपालगन्जमा पनि राम्रो व्यापार गरेको छ । असोज ७ गते प्रदर्शनमा आएको प्रेमगीत–३ ले क्युएफएक्स बागेश्वरी नेपालगन्जबाट करिब ५० लाख भन्दा बढीको व्यापार गरिसकेको छ । प्रेमगीत–३ मा नेपालगन्ज निवासी डा. कुमार सान शाहको पनि लगानी रहेको छ ।
प्रेमगीत–३ नेपालगन्जमा सर्वाधिक हिट भएको फिल्मको सूचीमा परेको बताउँछन् क्युएफएक्स बागेश्वरी नेपालगन्ज शाखाका म्यानेजर सन्जिव शाक्य । उनले भने, ‘पछिल्लो समय दर्शकले सर्वाधिक रुचाएको फिल्ममा पर्छ प्रेमगीत–३ । नेपालगन्जका दर्शकले धेरै मन पराउनु भएको छ । कोभिड पछि समस्या परेको फिल्म क्षेत्रलाई यस्ता फिल्मले नयाँ उर्जा दिएका छन् । अझै केहि दिन सम्म प्रेमगीतले सो पाउने सम्भावना छ ।’ प्रेमगीत–३ प्रदर्शनमा आएको २३ दिन भयो । तिहार सम्म प्रेमगीत–३ ले सो पाउने सम्भावना रहेको म्यानेजर शाक्यले बताए ।
अहिले दैनिक एक सो पाइरहेको प्रेमगीत–३ ले सुरुआतमा दिनको ९ वटा सो सम्म पाएको थियो । प्रेमगीत–३ हेर्न आउने दर्शक थपिएपछि क्युएफक्स व्यवस्थापनले सो संख्या थप्दैं गएको थियो ।
क्युएफएस बागेश्वरी नेपालगन्जका म्यानेजर सन्जिव शाक्यका अनुसार प्रेमगीत–३ अघि कबबडी–४, झिँगे दाउँ फिल्मले राम्रो व्यापार गरेका थिए । करिब ४० दिन सम्म चलेको कबडडी–४ ले ६० लाख भन्दा बढीको व्यापार गरेको थियो भने अनुमान गरे भन्दा फरक नतिजा निकाल्ने क्रममा झिँगे दाउँले १५ लाख भन्दा बढीको कारोबार नेपालगन्जबाट गरेको थियो ।
आगामी शुक्रबार क्युएफएक्स बागेश्वरी हलमा के घर के डेरा, नालापानी फिल्म प्रदर्शनमा आउँदैछन । तिहार पछि भने महापुरुष फिल्म प्रदर्शनको तयारीमा रहेको छ ।