दलबहादुर माओवादीमा प्रवेश, क्षेत्र नम्बर ३ को राजनितिमा नयाँ तरंग
Monday, October 17th, 2022, 10:11 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, ३१ असोज
बाँकेको कम्युनिष्ट राजनितिका पुराना नेता दल बहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनार एकीकृत समाजवादी पार्टी पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्र्चाज हुन् । उनले माआवोदी पार्टी प्रवेश गरेपछि बाँके क्षेत्र नम्बर ३ को राजनितिमा नयाँ तरंग आएको छ । सुनारको पार्टी प्रवेशले क्षेत्र नम्बर ३ मा माओवादी थप बलियो बन्ने निश्चित छ । सुनारको निर्णयले भने समाजवादी पार्टीलाई ठुलो धक्का पुगेको छ । सुनार समाजवादीको प्रभावशाही नेता हुन ।
४१ वर्ष देखी सक्रिय रुपमा उनले कम्युनिष्ट पार्टीबाट राजनिति गर्दै आएका छन् । गठबन्धनबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका सुनारलाई सोमबार माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य एवम् बाँके इन्र्चाज पुर्णा कुमारी सुवेदी, माओवादी केन्द्र बाँके संयोजक डम्बर विक तुफानले पार्टी प्रवेश गराए ।
उनले बाँके क्षेत्र नम्बर ३(क)बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । सुनार माओवादीमा प्रवेश गरेपछि बाँके क्षेत्र नम्बर ३ को चुनावी समिकरण थप रोचक बन्ने भएको छ । सुनार विगतमा नेकपा एमाले थिए । एमालेपार्टी विभाजन हुँदा उनी माधव कुमार नेपालको नेतृत्वमा बनेका एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । बैजनाथ गाउँपालिका क्षेत्रमा सुनारको पकड बलियो मानिन्छ ।
विशेषगरी दलित मतदातामा उनको प्रभाव धेरै छ । सुनार माओवादीमा प्रवेश गरेपछि उनलाई बाँके क्षेत्र नम्बर ३ (क)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाउने पनि प्रयास भैरहेको छ । स्रोतका अनुसार माओवादी केन्द्रले बाँके क्षेत्र नम्बर ३ (क)बाट उम्मेदवार बनेका आइपी खरेलको स्थानमा उनलाई आधिकारिक उम्मेदवार बनाउने पनि प्रयास भैरहेको छ ।
एकीकृत समाजवादी नेता दल बहादुर सुनार र दिपक जिएमले बाँके क्षेत्र नम्बर ३ बाट (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । असोज २६ गते उम्मेदवारी मनोनयन फिर्ता लिने दिनमा जिएमले मात्र फिर्ता लिदैं लोकतान्त्रिक बाम गठबन्धनलाई संघाउने घोषणा गरेका थिए । तर सुनारले फिर्ता लिएनन् ।
उम्मेवारी फिर्ता नलिएपछि उनलाई एकीकृत समाजवादीले कारबाही गर्ने सम्भावना बढि थियो । एकीकृत समाजवादी बाँकेका सचिव दिपक जिएमका अनुसार मनोनयन फिर्ता नलिएपछि उनी पार्टी नरहने करिब पक्का थियो ।
सुनार लोकतान्त्रिक बामगठबन्धनका दलभित्रै प्रवेश गरेकाले चुनावी समिकरणमा कुनै असर नगर्ने बताउँछन जिएम । उनले भने,‘हामीले गठबन्धनको उम्मेदवारलाई सहयोग गर्ने हो । गठबन्धन दलका स्थानीय नेताले जे निर्णय गर्छन त्यो हामीले मान्नु पर्छ ।’
माओवादी प्रदेश गरेका सुनार नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) पोलिटब्यूरो सदस्य हुन् । बाँके बैजनाथ गाउँपालिका एच गाउँ निवासी सुनारले मंसिर ४ गते हुन लागेको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
को हुन सुनार

…
दल बहादुर सुनार २०३८ सालदेखी कम्युनिष्ट राजनितिमा सक्रिय भएर लागेका नेता हुन । नेकपा एमालेबाट उनी २०६४ सालमा समानुपातिक कोटाबाट सभासद बनेका थिए ।
भलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६८ सालमा सुनारले सिंचाई राज्य मन्त्री हुने अवसर पाएका थिए । दोस्रो पटक २०७० सालमा संविधान सभाको निर्वाचन हुँदा सदस्यमा निर्वाचन भएका थिए । त्यसपछी भने उनी एमालेपार्टी भित्रको आन्तरिक गुटगत खेलको सिकार हुन पुगेका थिए । एमालेमा हुँदा माधव कुमार नेपाल समुह निकट मानिने सुनारले २०७४ सालको आम निर्वाचनमा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने प्रयास गरेका थिए ।
उम्मेदवार छनोटमा सर्वसम्मत हुन नसकेपछि एमाले बाँके क्षेत्र नम्बर ३ को कमिटिले निर्वाचन सम्म गर्नु परेको थियो । उम्मेदवार छान्न चुनाव हुँदा नन्दलाल रोकाय पहिलो, कमल बस्नेत दोस्रो र सुनार तेस्रो भए । पछि रोकायले प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि उनले बैजनाथ गाउँपालिका अध्यक्षको उम्मेदवारी दिने चर्चा चलेको थियो । तर गठबन्धन कारण उनले उम्मेदवारी दिएका थिएका थिएनन ।
एमालेभित्र बिद्रोह गर्दै माधव कुमार नेपाल समुहले नयाँ पार्टी खोलेपछि उनी एकिकृत समाजवादीमा प्रवेशमा गरेका थिए ।
क्याप्सन: दल बहादुर सुनारलाई पार्टी प्रवेश गराउन आयोजना गरिएको कार्यक्रम । तस्विर: डक्ट धिताल ।