राठौंर भन्छन: सारी बाँडेर चुनाव जित्ने कति विकास गरे सोध्ने बेला आयो
Monday, October 17th, 2022, 10:15 pm
Kalpristha
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौंरले एमालेले दिएको जस्तो आफुले जनतालाई धोका नदिने बताएका छन् ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर बाँके क्षेत्र नम्बर ३(ख)को लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौंरले बाँके र बर्दियाका जनताको जीवन स्तर सुधार गर्दै यस क्षेत्रको विकासका लागि आफुले उम्मेदवारी दिएको बताए ।
उनले भने, ‘हिजोको दिनमा जितेका एमालेका नेताले यस क्षेत्रमा कति विकास गरे त्यो सबैलाई थाहा छ । म जे भन्छु त्यो पुरा गरेर छोड्छु । यस क्षेत्रको जनताको भरोसा टुटन दिने छैन ।’
पछिल्लो पाँच वर्षमा किस्मत कुमार कक्षपतिले नेतृत्व गरेको खजुरा गाउँपालिकामा कुनै परिवर्तन हुन नसकेको आरोप लगाउँदैं नेता राठौंरले भने, ‘कक्षपतिले पाँच वर्ष नेतृत्व गरे । उहाँले पाँच वर्षमा के गर्नु भयो । त्यहाँको बाटो अवस्था कस्तो छ । उहाँले कति बजेट विकास निर्माणमा हाल्नु भयो । कति बजेट केन्द्रबाट ल्याउनु भयो । जनताको पक्षमा कति बजेट खर्च गर्नु भयो । त्यसको अब समीक्षा गर्ने बेला आएको छ ।’
धोती र सारी बाँडेर चुनाव जितेका उम्मेदवारले आफनो क्षेत्रमा कति विकास गरे भनेर सोध्ने बेला आएको सह–महामन्त्री राठौंरले बताए ।
बाँके क्षेत्र नम्बर ३(ख)बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका बादशाह कुर्मीले एमालेले जितेको क्षेत्रमा जनतालाई कुनै विकास भएको अनुभुती हुन नसकेको बताए । उनले भने, ‘एमालेका नेता नन्दलालले चुनाव जितेपछि के कति विकास गर्नु भयो । त्यो हामीलाई थाहा छ । जनतालाई भ्रममा राखेर सधैं चुनाव जित्न सकिदैन । अब जनताले राम्ररी बुझिसकेका छन् ।
यस क्षेत्रको विकासको लागि, परिवर्तनको लागि । संविधान र संघीय लोकतान्त्रिक व्यवस्था जोगाउनका लागि जनताले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने छन् ।’
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले क्षेत्र नम्बर ३ ले एउटा शिर्ष स्तरको नेतालाई उम्मेदवारको रुपमा पाएको बताए । प्रतिगमनकारीले भ्रम पारेर जनताको मत लिने प्रयास गरिरहेको आरोप लगाए ।
उनले भने, ‘ हारको मानसिकताले अहिले किशोर सिंह राठौरलाई बाहिरबाट आएको नेता भनिरहेका छन् । किशोर सिंह राठौर नेपालगन्जमा आएको ६० वर्ष भयो । किस्मत कक्षपति खजुरा आएको २२ वर्ष भयो । के हो बाहिर बाट आएको उम्मेदवार । जनताले प्रष्ट थाहा पाइसकेका छन् ।’
बाम गठबन्धन हुँदा, स्थानीय भनेर जिताएका उम्मेदवार नन्दलालले पाँच वर्ष सम्म एल गाउँ जाने बाटो समेत बनाउन नसकेको विकले बताए ।
उनले भने, ‘जनतालाई भ्रममा पारेर खजुरा र क्षेत्र नम्बर ३ लाई कुरुप बनाउने पाइने छैन । किस्मत कक्षपतिले पाँच वर्ष खजुराको अध्यक्ष बने । मैले कुनै भ्रममा राख्न चाहन्छ । उहाँले सुरु गरेको कुनै पनि योजना पुरा भएनन । आज खजुरा भत्किएको छ । डमाडोल छ । सडक ध्वस्त बनेका छन् ।’