भेरी अस्पताल परिसरका संरचना व्यवस्थापनमा सिर्जीत विवाद साम्य
Wednesday, October 19th, 2022, 5:55 pm
Kalpristha
भेरी अस्पतालको परिसरमा रहेका संरचना(सटर) व्यवस्थापन गर्न खोज्दा सिर्जीत विवाद साम्य भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पतालका पदाधिकारीबीच औपचारिक सहमति भएसंगै सो विवाद सकिएको हो ।
….
अस्पताल प्रशासनले व्यवसायिक प्रयोजनका लागि दिइएका १९ वटा पक्की सटर ०७८ असोज १ गते डोजर लगाएर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी र नेपाल चिकीत्सक संघले आफनो स्वामीत्वमा रहेका संरचना जोगाउने प्रयास गरेपछि विवाद लम्विएको थियो । भेरी अस्पतालले आफनो स्तरोन्नती र विकासका लागि भन्दै गत वर्षदेखि पुराना संरचना भत्काउने अभियान शुरु गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा अन्तर्गत ६ वटा सटर र चिकीत्सक संघ भेरीको ५ वटा सटर रहेका छन् ।
सटरसँगै जोडीएको अर्कोे भवनबाट रेडक्रसको रक्तसंचार सेवा प्रवाह भइरहेको छ । रक्त सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म संरचना विस्थापन नगर्न भन्दै रेडक्रसले सहजीकरणका लागि गत वर्ष संवाद समूहलाइ औपचारिक आग्रह गरेको थियो । समूहले सरोकारवालासँग चरणवद्ध संवाद सहजीकरण गरेपछि हालै दुबै पक्षबीच ६ वुँदे लीखीत सहमति भएको हो । भेरी अस्पताल विकास समितिका तर्फबाट मेडिकल सुपरीटेण्डेन्ट डा बद्री चापागाई र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका तर्फबाट मन्त्री अजीज अहमद सिद्वीकीबीच लिखीत सहमति भएको छ ।
….
सहमती पत्रमा रेडक्रसको भोगाधिकारमा रहेका ६ वटा सटर विस्थापन गर्दा हुने नोक्सानीको क्षतिपूर्तिका लागि अस्पताल विकास समितिले सम्वन्धित सरकारी कार्यालयका प्राविधिकबाट मुल्यांकन गराइ सरोकारवाला मन्त्रालयमा निर्णय सिफारिस गर्ने र क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिनु पर्ने, सटर विस्थापन गर्दा रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै असर/क्षति भएमा अस्पताल विकास समितिलेनै मर्मत सम्भार गर्ने, रक्त सञ्चार सेवा केन्द्रमा नियमित विद्युत आपुर्ति व्यवस्था गर्ने, रक्त सञ्चार सेवाको नयाँ भवन बनेमा सो भवनमा पनि सोही अनरुप विद्युत व्यवस्था गरिदिने उल्लेख गरिएको छ ।
यस्तै रेडक्रसको माथिल्लो तलामा रक्त संचार सेवामा प्रयोग भइरहेका उपकरण, फर्निचर, ल्याव सामाग्रीको उचित व्यवस्थापनका लागि अस्पतालले उपयुक्त स्थान उपलव्ध गराउने, रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै पनि असर नपर्ने गरि अस्पताल विकास समितिले आफनै खर्चमा संरचना व्यवस्थापन गर्ने, संरचनागत सामाग्रीहरु (इटा, झ्याल, ढोका, सरिया) नेपाल रेडक्रस सोसाइटीकै भएकाले सो को जिम्मेवारी (विक्री,वितरण, व्यवस्थापन) स्वयं रेडक्रसले गर्ने र सहमती यथाशक्य कार्यान्वयनमा लगिने पनि सहमती गरिएको छ ।
नेपाल सरकारको तर्फबाट रक्त सञ्चार सेवा केन्द्रको नयाँ भवनका लागि वजेट छुट्याइएपछि सहमति कार्यान्वयनमा थप सहजता देखीएको छ । अस्पताल परिसरमै रक्त सञ्चार सेवा केन्द्र भवन निर्माणका लागि शिलान्यास समेत भइसकेको छ ।