स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवम् मितव्ययी निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपुर्ण : निर्वाचन आयुक्त तुलाधार
Thursday, October 20th, 2022, 3:16 pm
Kalpristha
नेपालगन्ज : स्वतन्त्र, निष्पक्ष, भयरहित एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्ग पत्रकारको भूमिका महत्वपूर्ण रहेको निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधारले बताएकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि लुम्बिनी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको बिहीबार नेपालगञ्जमा उद्घाटन गर्दै आयुक्त डा. तुलाधरले आयोगले मिडियासँग ‘हामी सधैँ सँगै’ भन्ने मूल मन्त्रका साथ सहकार्य गरिरहेको बताईन् ।
स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन मिडिया तथा सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आयुक्त डा. तुलाधरले विगतका निर्वाचन जस्तै यसपटक पनि मिडियाबाट निष्पक्ष भूमिकाको निरन्तरता आयोगले खोजेको बताइन् । उनले बदर मत घटाउन आयोगले मतदाता शिक्षालाई जोड दिँदै प्रचारप्रसारलाई अगाडि बढाएको उल्लेख गरिन् । आयुक्त तुलाधरले आचारसंहिता पालना कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै मिडियाबाट प्राप्त हुने सूचना र सन्देश आयोगका लागि कोशेढुंगा सावित हुने बताइन् । साथै उनले मिडियालाई सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरिन् ।
‘सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियमन गर्न आयोगले विभिन्न टेक कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । मतदानस्थल, मतदातालाई पहुँचयोग्य बनाउन आयोगले आवश्यक सुधार गरेको छ । भने, कुनै पनि मतदाता आफ्नो मताधिकारबाट वञ्चित नहोउन् भनेर आयोग सजग छ,’–उनले भनिन् ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश धनसिंह महराले मतदान कार्य स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सञ्चालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तह निर्वाचन २०७९ मा बाँकेमा पत्रकार र मिडियाले खेलेको भूमिकाको सराहना गरे ।
कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले निर्वाचन र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रदेशस्तर मिडिया अभिमुखीकरण कार्यक्रम गरेको हो ।