बाराही हाइड्रोपावरको आइपीओ खुल्यो
Friday, October 21st, 2022, 5:26 pm
Kalpristha
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले पहिलो चरणमा प्राथामिक निष्कासन जारी गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बागलुङको जैमिनी–१,४ र ५ तथा जैमिनी नगरका अन्य वडाका बासिन्दाका लागि आइपीओ जारी गरेको हो ।
कम्पनीले स्थानीयका लागि पहिलो चरणमा प्रति कित्ता १०० रुपैयाँका दरले २ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेको छ ।
सो आइपीओ खरिदका लागि न्युनतम १० किता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन मिल्ने छ ।
आजबाट बिक्री खुलेको कम्पनीको आइपीओमा छिटोमा कात्तिक १८ गते सम्मका लागि आवेदन दिन मिल्ने छ ।
तर उक्त समयसम्म स्थानीय बासिन्दाहरुबाट पर्याप्त आवेदन नपरे कम्पनीले सो आइपीओ बिक्रीको समय थप गरी मंसिर ४ गते सम्म पुर्याउने छ ।
आइपीओका लागि दरखास्त फाराम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य तथा बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।
साथै स्थानीयले एनएमबी बैंकको शाखा कार्यालय कुश्मीसेरा शाखा बागलुङ, कुमारी बैंकको शाखा कार्यालय राहाले पर्वत, ग्लोबल बैंकको शाखा कार्यालय कुश्मीसेरा बाग्लुङ र गरिमा विकास बैंकको शाखा कार्यालय ट्राफिक चोकबाट दरखास्त फाराम प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।