विश्वकपः अष्ट्रेलिया माथि न्युजिल्यान्डको ८९ रनको सानदार जित
Saturday, October 22nd, 2022, 6:30 pm
Kalpristha
एजेन्सी : न्युजिल्यान्डले आइसिसी टी–२० विश्वकपमा साविक विजेता अष्ट्रेलियामाथि ८९ रनको सानदार जित निकालेको छ । घरेलु टोलीमाथि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको हो ।
जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.१ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो । उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाए । यस्तै प्याट कमिन्सले २१ रन बनाउँदा मिचेल मार्सले १६ तथा कप्तान आरोन फिन्चले १३ रन बनाए । टीम डेभिडले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका टिम साउथीले २.१ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । यस्तै मिचेल सान्टनारले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिँदा ट्रेन्ट बोल्टले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसन र ईश सोधीले एक–एक विकेट हात पारे ।
त्यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर डेभन कन्वेले ९२ रनको अभिजित इनिङ खेले । ५८ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।
ओपनर फिन एलेनले ४२ रन बनाउँदा केन विलियम्सनले २३ रन जोडे । ग्लेन फिलिप्सले १० बलमा १२ रन बनाउँदा जेम्श निसम १३ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे ।
अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ तथा एडम जाम्पाले १ विकेट लिए ।