प्रज्ञा प्रतिष्ठान गठन गर्ने खजुरा बाँकेमा पहिलो पालिका, डा. इन्द्रबहादुर भण्डारी उप–कुलपति
Sunday, October 23rd, 2022, 8:43 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ६ कात्तिक
डा. इन्द्रबहादुर भण्डारीको अध्यक्षमा बाँकेको खजुरा गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । बाँकेमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने खजुरा पहिलो स्थानीय निकाय हो । खजुरा गाउँपालिका कुलपति रहेको प्रज्ञा प्रतिष्ठानको उप–कुलपतिमा स्थानीय डा. इन्द्रबहादुर भण्डारी नियुक्त भएका छन् ।
प्रतिष्ठानको सह–कुलपतिमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, सदस्यहरुमा मणिदेव अर्याल, माधव शर्मा, कल्पना पौडेल, र गाउँपालिकाका लेखा अधिकृत प्रदीप सुनार मनोनित भएका छन् । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले खजुराको भाषा, साहित्य, कला, संस्कृति संरक्षण र उत्थानमा महत्वपुर्ण सहयोग पुग्ने बताए । उनले भने,‘भाषा, संस्कृति भनेको हाम्रो सम्पत्ति हो । यसलाई जगेर्ना गर्न नसके हाम्रो इतिहास भावी पुस्तालाई थाहा हुँदैन ।
संस्कृतिको विकासले समाजलाई सहि बाटोमा लग्छ । खजुरा प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रको कला, संस्कृति, भाषाको विकासमा महत्वपुर्ण योगदान गर्ने मैले विश्वास लिएको छु ।’
नवनियुक्त उप–कुलपति डा. भण्डारीले खजुरा गाउँपालिकाले दिएको जिम्मेवारीलाई हाम्रो टिमले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । खजुराको इतिहास, भाषा, साहित्य र कलालाई आम जनतामाझ पु¥याउन प्रतिष्ठानले योजना बनाएर काम गर्ने बताए ।