आज काग तिहार
Sunday, October 23rd, 2022, 10:34 am
Kalpristha
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको छ । आईतबार काग तिहार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार शनिबार बेलुकी त्रयोदशी तिथि परेकोले यमदीपदान शुरु भएको हो ।
आइतबार बेलुकी ५:०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ ।
यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रात: कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ प्राध्यापक अधिकारीले भने ।
यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।
तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।