भारतबाट आउने अवैध फुलले नेपाली व्यवसायी मर्कामा
Sunday, October 23rd, 2022, 6:23 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ६ कात्तिक
भारतबाट कर नतिरेर ल्याएका व्यापारीका कारण नेपालका पुष्प व्यवसायी मर्कामा परेका छन् ।
नेपालको मुख्य चाडपर्व दशैं, तिहार, छठको समयमा भारतीय नागरिकले भन्सारबाट अवैध रुपमा कर नतिरेर फुल ल्याएर नेपाली बजारमा बिक्री गरिरहेका छन् । भारतीय बजार रुपैयाडिहाबाट दैनिक रुपमा कर छलेर फुलहरु नेपाल भित्रने गरेका छन् । त्यसमा प्रहरी प्रशासन, सशस्त्र प्रहरी र भन्सार अधिकारीले पनि कुनै वास्ता गरेको देखिदैन ।
जसका कारण नेपालमा फुल खेती गरिरहेका किसान र व्यवसायीलाई असर गरिरहेको छन् ।
नानपाराका रमन सिङ नेपालगन्जमा हरेक बर्ष १० देखी १५ क्विन्टल सयपत्री फुल र माला बेच्छन् । यस वर्षपनि उनले १२ क्न्टिल सयमत्री फुल दिल्लीबाट नेपाल ल्याएका छन् । उनले सिमा नाकामा फुल सिमावारी ल्याउनका लागि ६–७ जना खटाएका छन् । उनको समुहका रमनसहित २–३ जना त्रिभुवन चोकमा खटिएका छन् । जसले फुलहरु बेचिरहेका छन् ।
नानपाराकै कमलेस कुम्हारले पनि ४ जनालाई फुल ल्याउनका लागि सिमानामा खटाएका छन् । बाँकी ३ जना नेपालगन्जमा त्रिभुवन चोकमा फुल बेच्न बसेका छन् । उनीहरुले दैनिक २–३ कुन्टल बिक्रि गरिरहेका छन् ।
सेतुविक चोकको छेवैमा बसेर ४ सय रुपैंया प्रतिकेजी सयपत्री फुलको माला बेचिरहेका जाकिर खान पनि रुपैडिहा कै हुन ।
यसरी नेपालगन्ज बजारको फुटपाथमा बसेर फुल बेच्ने एकाध बाहेक सबै भारतीय नागरिक देख्न सकिन्छ ।
पुष्प व्यवसायी बिन्दु चर्तिमगरले सरकारी निकायले कडाई नगर्दा नेपाली व्यवसायीलाई असर गरेको बताउँछिन् । उनले भनिन,‘भारतबाट फुल ल्याउन हुँदैन भनेको होइन । राजस्व नतिरेर अवैध रुपमा नेपालमा हरेक वर्ष त्यसरी फुलहरु भित्रिरहन्छन् । नेपाली किसानले मिहिनेत गरेर उत्पादन गरेको फुल बिक्री हुँदैन । अनि कसरी नेपालमा फुल खेती गर्ने किसान बढछन् ।’
नेपालमा फुल व्यवसाय गर्ने किसानले कानुनी रुपमा सरकारलाई राजस्व बुझाएर व्यवसाय गरिरहेका छन् । भारतबाट अवैध रुपमा कर छलेर आएका फुलहरुका कारण नेपाली किसानको मनोबल घटने गरेको बताउँछिन उनी । यस विषयमा प्रशासन र सम्बन्धित निकायलाई जानकारी गराएपनि केहि सुनुवाई नभएको बिन्दुले गुुनासो गरिन् ।
फुटपाथमा बसेर बेच्नेहरुको मुल्य र स्थानिय पुष्प व्यवसायी उत्पादन गरेको फुलको मुल्यमा खासै फरक भने छैन । २ सय देखि ४ सय सम्म प्रतिकेजी फुटपाथमा विक्रि भैरहेको छ भने नेपाली व्यवसायीहरुले ३ सय ५०मा रुपैंया प्रतिकेजी बेचिरहेका छन् । उनेको माला भने १ सय रुपैंयामा बिक्रि भैरहेको छ ।
तिहारमा सबैभन्दा बढी प्रयोग हुने सामाग्री मध्ये फुल पनि एक हो । बाँकेमा दर्ता भएरै सन्चालन भएका ३ वटा पुष्प व्यवसाय छन् । नर्सरी र मौसमी पुष्प व्यवसायहरु भने ५०–६० को संख्यामा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिती सदस्य तथा पुष्प व्यवसायी विन्दु चर्ति मगर बताउँछिन् ।
खुला भन्सार भएका कारण पनि फुटपाथमा अवैध रुपमा फुल आयात गरि बेच्नेहरु बढीरहेको भन्दै पुष्प व्यवसायी मगरले भन्सार लागु गरिदिए मात्रै सरकारको अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताईन् ।
‘सरकारले न त हामीहरुलाई अनुदान र सहुलिएत दिएको छ । न त ग्राहकमा नै जनचेतना छ ।
१० रुपैंया जोगाउन हाम्रा नेपाली ग्राहक रुपैडिहा जान्छन् । नाकामा भन्सार कार्यालय र स्थानिय प्रशासनको अनुगमन र कडाई छैन । स्थानिय सरकारको बजार व्यवस्थापन तर्फ ध्यानै छैन ।यो खालको गम्भिर लापरवाहिले हामी व्यावसायीहरुलाई मर्का परिरहेको छ,’– उनले भनिन् । गत वर्ष १५ क्विन्टर फुलमाला बेचेकी चर्ति यस पटक १० क्विन्टल बिक्री गर्न अप्ठयारो परेको बताउँछिन् ।