को बन्ला फेस अफ नेपालगन्ज सिजन–३ को विजेता ?
Friday, October 28th, 2022, 6:30 pm
Kalpristha
सुजन खत्री
नेपालगन्ज, ११ कात्तिक
फेस अफ नेपालगन्ज सिजन–३ को ताजका लागि शनिबार अन्तिम प्रतिस्पर्धा हुदैंछ । जसको तयारी पुरा भएको आयोजकले बताएको छ । नेपालगन्जमा हुने फेस अफ नेपालगन्ज सिजन–३ को विजेता बन्नको लागि १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसबाट विजेताहरुको घोषणा गरिनेछ । शनिबार हुने फाइनल राउन्डमा मुख्य निर्णायकको रुपमा कलाकार मुकुन भुजेल, मिस नेपालगन्ज २०१७ को विजेता दिपिका श्रेष्ठ र मोडेल अन्जन कुवँर रहनेछन् ।
शनिबार हुने फाइनल राउन्डबाट विजेता, फस्ट रनरअप, सेकेन्ड रनरअप, पब्लिक च्वाईस, आयोजकको रोजाई, बहुप्रतिभाशाली, मल्टिमिडिया अर्वाड, फोटो जेनिक लगायतका विधामा पुरस्कार प्रदान गरिने आयोजक पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुवँरले कालपृष्ठ दैनिकलाई जानकारी गराए ।
आयोजकका अनुसार फेस अफ नेपालगन्ज सिजन–३ को विजेताले १६ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । नेपालगन्जमा लोकप्रिय इभेन्ट्सका रुपमा रहेको फेस अफ नेपालगन्ज सिजन पहिलो सिजनको उपाधि सिजन शाह र मनोज घर्तीले जितेका थिए । त्यसपछि दोस्रो सिजनमा ऋतिका शर्मा र प्रज्वल ओली विजेता बनेको थिए । फेस अफ नेपालगन्ज सिजन–३ को अडिसनमा २८ जनाले भाग लिएका थिए । असोज १० गते भएको अडिसनबाट आयोजक टिमले १४ जनालाई छनोट गरेको थियो ।
ट्यालेन्ट राउन्ड सम्पन्न
नेपालगन्जमा भएको ट्यालेन्ट राउन्डमा १४ जना प्रतिस्पर्धीले आफनो व्यक्तिगत क्षमता प्रदर्शन गरेको आयोजक पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुवँरले बताए । ट्यालेन्ट राउन्डमा मिस नेपालगन्ज २०१९ को सेकेन्ड रनरअप निसा श्रेष्ठ, मिस्टर स्कुल बाँके सिजन–१ को फस्ट रनरअप समन थापा र मिस्टर नेपालगन्ज सिजन–१ को विजेता प्रज्वल ओलीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । फेस अफ नेपालगन्ज सिजन–३ को फाइनल राउन्ड शनिबार नेपालगन्जमा हुँदैछ । जसमा ८ जनाले विभिन्न विधामा उपाधि जित्ने आयोजक पिके इभेन्ट्सले बताएको छ ।