चुरा गोदाममा आगलागी : एक जनाको मृत्यु
Sunday, October 30th, 2022, 12:29 pm
Kalpristha
नेपालगन्ज: बाँकेमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ५ रामनगरस्थित रमेश कुमार नागको ३ कोठे पक्की घरमा रहेको काँचको चुराको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घाइते भएका बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ८ का २३ बर्षीय समिर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै आगलागीमा परी घाइते भएका चुरा गोदामका साहु नेपालगञ्ज ५ का ३८ बर्षीय मो. आरिफ अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृतक अन्सारीको साला नाता पर्ने र भेटघाटका लागि हिजो भिनाजुको गोदाममा आएको प्रहरीले जनाएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विहान ५ः४० बजे सुरु भएको आगो विहान ६ः३० बजे नियन्त्रणमा आएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागी पछि लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको कमाण्डमा ६५ जना र सशस्त्र प्रहरी नम्बर ३० गणबाट सहायक प्रहरी निरीक्षक धनराज बुढाथोकीको कमाण्डमा १५ जनाको टोली घटनास्थलमा खटिएको थियो । आगलागीको कारण खुलेको छैन ।