नेपालगन्ज म्याराथन विश्व म्याराथनको सर्वोच्च निकाय एम्सको सदस्य
Sunday, October 30th, 2022, 12:49 pm
Kalpristha
नेपालगन्ज : नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने सम्भवतः नेपालगन्ज म्याराथन पहिलो हो । गत महिना मात्र एम्सबाट नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत ४२.१९५किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलग–अलग प्रमाणपत्र रहेको छ ।
वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य छन् । नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजात सहित सम्पुर्ण प्रक्रिया पुरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो । एम्सको आवद्धतासँगै नेपालगन्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको छ । अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्ज म्याराथनको बजारीकरण एवं प्रवद्र्धन गर्न एम्सले सघाउने नेपालन्ज म्याराथनका संस्थापक÷अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगन्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगन्ज म्याराथन पुर्ण सफलताको कामना गरेका छन् । एम्समा आवद्धताले नेपालगन्ज म्याराथन मात्र नभई समग्र नेपाली म्याराथन तथा रोड रेस धावक तथा प्राविधिक लाभान्वित हुनेछन् । नेपालगन्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्ने अध्यक्ष ठकुरीले बताए ।
संसारमा लामो इतिहास बोकेका प्रतिष्ठित म्याराथनमा सहभागिताका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ, त्यसका लागि नेपालगन्ज म्याराथन अब एउटा आधार बन्न सक्छ । त्यस्तै विदेशी पर्यटकका लागि नेपालगन्ज म्याराथन नयाँ गन्तव्य हुने आशा गर्न सकिन्छ । नेपालको अग्रणी व्यवसायिक प्रतिष्ठान केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेसँगै धारा नेपालगन्ज म्याराथन नामाकरण भएको छ ।
नेपाल सरकार र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस बर्ष मंसिर २४ गते शनिवार हुनेछ । क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ ।
नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछ ।