निर्वाचनमा ३ हजार बढी कर्मचारी खटिदैं
Thursday, November 3rd, 2022, 12:06 pm
Kalpristha
नेपालगन्ज :आसन्न निर्वाचनका लागी बाँकेमा आवश्यक कर्मचारी खटनपटनको काम सुरु भएको छ । निर्वाचन नजिकिए संगै कर्मचारी खटनपटनको काम समेत सुरु भएको निर्वाचन कार्यालय बाँकेका सुचना अधिकारी युवराज पन्तले जानकारी दिए ।
निर्वाचन कार्यालय बाँकेका सुचना अधिकारी पन्तका अनुसार यसपटकको संसदीय निर्वाचनमा ३ हजार भन्दा बढी कर्मचारी खटाईने छन् । एउटा मतदान स्थलमा ८ जनाका दरले कर्मचारी खटाउनुपर्ने आयोगको निदेर्शिका बमोजिम बाँकेमा रहेका ३ सय ८० वटा मतदान स्थलमा ३ हजार ४० जना खटाईने र त्यसको १० प्रतिशत कर्मचारी जगेडामा राखिने सुचना अधिकारी पन्तले जानकारी दिए ।
यस्तै निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि आवश्यक कार्यक्रमहरु अघि बढाएको छ । यसै सन्र्दभमा निर्वाचन कार्यालयले शिक्षा कार्यक्रम सुरु गर्दै छ । कार्यालयले बाँकेका ८१ वटै वडामा स्वास्थ्य स्वयंम सेविका परिचालन गरेको छ । हरेक वडामा खटिएका १ जना स्वास्थ्य स्वयंम सेविकाले स्थानियलाई मतदान बारे सिकाउनेछन् । उनिहरुले यहि कार्तिक १८ गते देखि मंड्डसीर १ गतेसम्म गरि करिब २ हप्ता सम्म स्थानियलाई मतदान बारे सिकाउने सुचना अधिकारी पन्तले बताए ।
१ जना स्वास्थ्य स्वयंम सेविकाले मात्रै मतदान बारे सबैलाई साक्षर बनाउन सक्लान त ? भन्ने प्रश्नमा सुचना अधिकारी पन्तले मतदाता शिक्षा निर्देशिकामा नै त्यो कुरा उल्लेख गरिएको हुनाले त्यसमा आफुहरुले केहि गर्न नसक्ने कालपृष्ठलाई बताए । साथै उनले १ जना मात्रै स्वास्थ्य स्वयंम सेविका भएपनि १४ दिनको समयमा समुहमा राखेर साक्षरताका कार्यक्रमहरु सन्चालन गर्ने भएकाले त्यति अफ्ठ्यारो पनि नहुने बताए ।
यसैविच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक मतपत्र बाँके आइपुगेको छ । मंगलबार बाँकेका लागि आवश्यक प्रत्यक्ष तर्फको मतपत्र आइपुगेको हो । ३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेको बाँकेमा त्यसभन्दा केहि बढी मतपत्र आइपुगेको निर्वाचन कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेमा नमुना मतदान सुरु
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बाँकेमा बुधबारबाट नमुना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमुना मतदान कार्यक्रम २१ गतेसम्म सन्चालन हुने छ । नमुना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधि लगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख रमा पन्तले जानकारी दिईन् ।
जिल्लाका सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गर्ने प्रमुख पन्तले जानकारी दिईन् ।
बुधबार मात्रै जानकी र खजुरा गाउँपालिकामा नमुना मतदान अभ्यास र निर्वाचनका विषयमा स्थानियका विच प्रस्तुतिकरण भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्तिक १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगञ्ज उप–महानगरपालिका, २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा निर्वाचन सम्बन्धी जानकारी र नमुना मतदान अभ्यास हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यस पटकको निर्वाचनमा चार प्रकारका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकका दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फका दुई मतपत्र रहेका छन् । नमुना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको पन्तले जानकारी दिईन् ।