सांग्रिला बैंकले सुरु गर्यो कस्टमर केयर इकाई
Thursday, November 3rd, 2022, 12:17 pm
Kalpristha
नेपालगन्ज : साङ्ग्रिला डेभेलपमेन्ट बैंकका ग्राहकहरूले अबदेखि घरमै बसीबसी फोनमार्फत नै बैंकसँग सम्बन्धित हरेक जिज्ञासाको समाधान सजिलैसँग प्राप्त गर्न सक्ने भएका छन् । साङ्ग्रिला डेभेलपमेन्ट बैंकले त्यस्तो सेवा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउनका लागि कल सेन्टरको रुपमा ‘साङ्ग्रिला कस्टमर केयर’ इकाईको सुरुवात गरेको छ ।
‘साङ्ग्रिला कस्टमर केयर’ इकाई बाट ग्राहकहरूले बैंकको बचत तथा मुद्दती खाताको ब्याजदर, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमा देखिएका विभिन्न समस्याहरूका समाधानका उपयाहरू, बैंकको हरेक सन्ध्याकालीन तथा बिदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नम्बर, कर्जा तथा निक्षेप सम्बन्धी जानकारी लगायतका जिज्ञासाहरूको समाधान सहज रूपले पाउन सक्ने बैंकले जनाएको छ ।
यो सेवाबाट धेरै ग्राहकहरूले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकका अनुसार यदि ग्राहकको फोनकल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत साङ्ग्रिला कस्टमर केयर इकाइका कर्मचारीहरूले ग्राहकहरूलाई कल ब्याक गरी ग्राहकका समास्याहरूका बारेमा जानकारी लिई समाधान गरिनेछ । बैंकका अनुसार साङ्ग्रिला कस्टमर केयर इकाइको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्बन्धित व्यक्तिहरूको जिज्ञासा, उनिहरुलाई पर्न गएको असुविधा र द्विविधाहरू तथा विभिन्न किसिमका प्रश्नहरूको समाधान गर्नु हो ।
बैंकले साङ्ग्रिला कस्टमर केयरमा सम्पर्क राख्न ०१–५९७००५२ र ९८६३५८९००० नम्बरमा फोन गर्न सकिने र सहज तरिकाले आफ्ना बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासाहरूको समाधान गर्न सकिने जनाएको छ ।
त्यस्तै, बिदाको दिनबाहेक यो सेवा आइतबारदेखि बिहीबार बिहान ९ः३० देखि वेलुका ५ः३० सम्म र शुक्रबार ९ : ३० देखि दिउँसो ३ः३० बजेसम्म लिन सकिने बताइएको छ । साङ्ग्रिला कस्टमर केयर इकाइबाट समाधान हुन नसकेको समस्याहरू सम्बन्धित विभागहरूद्वारा सम्बन्धित ग्राहकलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिने व्यवस्था समेत मिलाइएको बैंकको भनाइ छ । अहिले दैनिक रुपमा सयौँको संख्यामा ग्राहकहरूले यस साङ्ग्रिला कस्टमर केयरबाट सेवा लिइरहेको पनि बैंकले जनाएको छ ।
त्यस्तै, यो सेवा साङ्ग्रिला डेभेलपमेन्ट बैंकका नेपालभर रहेका सबै शाखा कार्यालयमार्फत उपलब्ध गराइएको छ । यस साङ्ग्रिला कस्टमर केयरबाट प्रवाह हुने सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधि खुल्ला गरी ग्राहकलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गरिनेसमेत बैंकले बताएको छ ।
साङ्ग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका १०४ शाखा कार्यालय, ३१ एटीएममार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।