उपल्लो डोल्पाका मतदान केन्द्रहरुमा कर्मचारी खटाउनै चुनौती
Thursday, November 3rd, 2022, 7:28 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १७ कार्तिक
हिमपातले अवरुद्द भएका उपल्लो डोल्पाका विभिन्न पासहरु नखुले पछि मतदान केन्द्रमा मतदान कर्मचारी खटाउन निकै चुनौति भएको छ । गएको असोजको अन्तिम सातामा परेको अविरल वर्षाले भएको भारी हिमपातले अवरुद्द पास(नाका)हरु नखुलेपछि कर्मचारी खटाउन चुनौती देखिएको हो ।
मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार माथिल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे, छार्काताङसोङ गाउँपालिकाको छार्कामा पर्ने मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभइकन मतदान कर्मचारीहरु पठाउन नसकिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका मतदान केन्द्रहरुमा पुग्न सदरमुकाम दुनै देखि एक साता लाग्ने गर्छ ।
माथिल्लो डोल्पाका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री र कर्मचारी पठाउनको लागि सम्बन्धित निकायमा हेलिकोप्टर व्यवस्थाका लागि खबर पठाइसकिएको प्रमुख जिल्ला अधिकारी बेदनीधि अधिकारीले बताए ।
उपल्लो डोल्पामा रहेका ३० ओटा मतदान केन्द्रहरु सुरक्षा दृष्टिकोणले अत्यन्तै संवेदनसिल भएकाले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको निर्वाचन अधिकृत सुवेदीले बताए ।
उत्तरी सिमा चिनसंग जोडिएका उपल्लो डोल्पाका केही मतदान केन्द्रहरुमा विगतका निर्वाचनका बेला मतदाता आफूले मतदान गर्न नपाउने तथा वारेसमा एक दुइ जनाले मात्र मतदान गर्ने गरेको हल्ला व्यापक भैरहेको बेला यसलाई रोक्न निर्वाचन टोलीले गम्भिर रुपमा विश्लेषण गरिरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले बताए ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि डोल्पामा ६६ वटा स्थाई र २ वटा अस्थाई गरेर ६८ ओटा मतदान केन्द्रहरु रहेका छन ।डोल्पाको मतदाता संख्या २२ हजार ७ सय ७४ रहेको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नको लागि डोल्पामा ४ सय जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।