निर्वाचनमा बाँकेबाट दुई बन्दीले भोट हाल्न पाउने
Thursday, November 3rd, 2022, 7:31 pm
Kalpristha
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् ।
नेपालगञ्ज उप–महानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिए ।
उनले निर्वाचन आयोगले माग गरे बमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको जानकारी दिए ।
श्रेष्ठ करिब सात महिनादेखि पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको लागुऔषध कारोबारको मुद्दा रहेको छ। उनको मुद्दा अहिलेसम्म अदालतबाट फैसला भएको छैन । मोहम्मद करिब एक वर्षदेखि कारागारमा रहेका छन् । लागुऔषधसम्बन्धी मुद्दामा कारागार चलान भएका उनले कारागारमा १० वर्ष बिताउने जेलर शाहले बताए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले अन्तिम नामावलीमा दुई जना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरुले अस्थायी मतदाताका रुपमा मताधिकारको प्रयोग गर्न पाउने जानकारी दिए।
उनले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी सहित एक हजार छ सय ३१ जनाले अस्थायी मतदाताका रुपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताए ।