खुर्सानीले रंगिएको रंग गाउँ
Saturday, November 5th, 2022, 1:08 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा : टाढाबाट झट्ट हेर्दा रातो रंगका जस्तापाताका छतहरुले रंगिएको जस्तो देखिने यो गाउँ डोल्पाको रंग हो । रंगिएका घरका छतहरु जस्तो देखिने यी घरका छतहरु जस्तापाताले नभई पाकेका खुर्सानीले रंगिएका हुन ।
त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाँउ जिल्लाको सबै भन्दा बढी खुर्सानी उत्पादन हुने गाउँमा पर्छ ।
यत्तिखेर रंग गाउँका २६८ घरधुरीका छतहरु खुर्सानीले रंगिएका छन ।घरका छतहरुलाई सोलार ड्रायलको रुपमा प्रयोग गर्दै खुर्सानी सुकाएपछि गाउँ नै रातो जस्तापाताले रंगिएको जस्तो देखिने गरेको हो ।
रंगगाउँका केशर बुढाले रंग गाउँमा कति मात्रामा खुर्सानीको उत्पादन हुन्छ भन्ने एकीन तथ्याङ्कन नभएपनि प्रति घरधुरीले सरदर वार्षिक १५ देखि ३० क्वीन्टल सम्म खुर्सानी उत्पादन गर्ने गरेको बताए ।
रंगगाउँमा उत्पादन भएको खुर्सानी विशेष गरी उपल्लो डोल्पाका शे–फोक्सुडो,डोल्पोबुद्द छार्काताङसोङ्ग र काइके गाउँपालिका गरी ४ गाउँपालिकाका बासिन्दाले खरिद गर्ने गर्छन ।
सामान्य खुर्सानीको खेती गर्ने घरधुरीले वार्षिक ५० देखि ६० हजार सम्म कमाउने गरेको केशर बुढाले जानकारी दिए । उहाँले भन्नु भयो धेरै खेती गर्नेले त ले खुर्सानीवाटै बार्षीक दुई लाख सम्म कमाउने गर्छन । कतिपयको जीविकोपार्जन खुर्सानीकै आम्दानीवाट चल्ने गरेको उहाँको भनाई छ।

रंग गाउँमै उत्पादन गरिएको मुल्यावन जडिबुटी केशरको फूल ।
अर्का खड्कलाल बुढाले नयाँ प्रविधिको खुर्सानी सुकाउने उपकरण नभएकाले पुरानै शैलीमा घरको छतमा खुर्सानी सुकाउदा कहिले बर्षात हुँदा कुहिने त कहिले माटोको सितले कुहिने गर्दा गुणस्तरमा ह्रास आउने गरेको बर्ताए ।
त्रिपुरासुन्दरी नगरपालिका कृर्षि शाखा प्रमुख रमेश राउतले रंग गाउँमा सबैभन्दा बढी खुर्सानी उत्पादन हुने गरेपनि कार्यालयमा कुनै तथ्याङ्क नभएको बताए ।
यसो त जिल्लामा अहिले सम्म खुर्सानीको माग पुर्ति रंग गाउँले नै गर्दै आइरहेकाले जिल्ला वाहिरको खुर्सानी आयत गर्नु नपरेको त्रिपुरासुन्दरी नगरपालिका १ का भक्तसिं कठायतले बताए । रंग गाउँ खुर्सानीको मात्र नभई स्याउ र बहुमुल्य जडिबुटी केशर खेतीको लागि पनि उर्भर भूमि मानिन्छ ।
खुर्सानी खेतीलाई आर्थिकोपार्जनको प्रमुख आधार बनाई रंगेली किसानको जीवनस्तर माथि उठाउन स्थानीय सरकारले आधुनिक प्रविधिमैत्री उपकरणको ब्यवस्था गर्नु जरुरी छ ।